Monday, May 1, 2017  |    

टानले नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ

प्रकाशित मिति: 2015/08/02

टानको पूर्व कार्यसमिति सदस्य तथा विदेश विभाग प्रमुख भएर काम गरिसक्नुभएका प्रेम कुमार खत्री सन् १९९९ सालदेखि पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा आवद्ध हुनुहुन्छ । विगत आठ वर्षयता उहाँले एस हिमालय ट्रेकिङ कम्पनीमार्फत पर्यटन प्रवद्र्धन र विकासमा योगदान पु¥याउँदै आउनुभएको छ । पर्यटन क्षेत्रमा राम्रो ज्ञान र अनुभव हासिल गर्नुभएका खत्री पर्यटन व्यवसायको अलावा विभिन्न सामाजिक सेवामासमेत क्रियाशिल हुनुहुन्छ । खत्री सम्भव नेपाल नामक संस्थापक हुनुहुन्छ, जसले विगत आठ वर्षदेखि गोर्खा जिल्लाको उत्तरी भेगका शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दैआएको छ । उहाँ रोटरी क्लव अफ माउन्ट एभरेष्टका बोर्ड मेम्बर पनि हुनुहुन्छ । हालै राजधानीमा रसियन एक नागरिकको सहकार्यमा एक सुविधासम्पन्न चारतारे होटल सञ्चालनको तयारी गरिरहनुभएको छ उहाँले । उनै खत्रीसँग नेपालको वर्तमान पर्यटन क्षेत्रको समसामयिक अवस्थामा आधारित रहेर सुवास भट्टले लिएको अन्तर्वार्ताः

पर्यटकीय सिजन नजिकिँदैछ तर हाम्रो पर्यटन अझै अन्यौलमै छ । यसबीचमा के गर्दैहुनुहुन्छ ?
आउँदो सिजनमा नतिजा खराबै होलाजस्तो लाग्छ । किनकी यसअघि भएका बुकिङहरु पनि दिन प्रतिदिन रद्द हुने क्रम जारी छ । मेरो मूख्य व्यवसाय चाँहि एजेन्ट ट्रेक्स भएको कारणले मेरो पार्टनर एजेट्सहरुलाई नेपाल सुरक्षित छ, यो–यो कारणले नेपाल आउन सकिन्छ, बुकिङ रद्द नगराउ भन्ने नेपालको प्रवद्र्धनार्थ सकारात्मक सन्देशहरु प्रवाह गर्ने काम गरिरहेको छु । व्यक्तिगत रुपमा पर्यटकहरुलाई नेपाल आउन सकारात्मक प्रोत्साहन गरिरहेको छु ।

तपाइँका पार्टनर एजेन्ट्हरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यसमा मिश्रित प्रतिक्रिया पाएको छु । मलाई चिन्नुहुने र नेपाल घुम्नुभएका मेरा पार्टनर एजेन्ट जो हुनुहुन्छ, उहाँहरुबाट अलिक बढि चाही सकारात्मक प्रतिक्रिया नै पाएको छु, उहाँहरु विश्वस्त हुनुहुन्छ । अरु नयाँ एजेन्ट्सहरुलाई चाँहि बुझाउन गाह्रो परिरहेको छ ।
तपाइँले यो बताईरहँदा पर्यटन व्यवसायीहरु आशातित रुपमा पर्यटन पुनरुत्थानका लागि जागरुक भएनन् भन्ने

आरोप सम्पूर्ण व्यवसायीहरुमाथि छ, यो सत्य हो ?
यसमा आंशिक सत्यता छ । हुनत यो काम एक जनामात्र गरेर हुने कुरा होइन, सामूहिक रुपमा गर्ने हो । यो कुरामा विशेषतः टानले पहल गर्नुपर्छ । टानले भूकम्पपछाडि खासगरी नकारात्मक प्रचारहरुलाई चिर्नका लागि भूमिका खेल्नुपथ्र्यो, सो गरेको देखिएन, यसका लागि टानसँग यथेष्ट बजेट नभएको पनि होइन । तर, यो कार्यक्षेत्रलाई बिर्सेर राहत बाँड्नेतिर टान लाग्यो । त्यस्तै लाङटाङ, मनास्लुलगायतका पर्यटन रुटहरुको मर्मत र पुनरुत्थान लािग टानले काम गर्नुपथ्र्यो । सरकारको मुख ताक्नुभन्दा पनि हामी आफैले काम अगाडि बढाउनुपर्छ ।  

त्यसको मतलब टान र व्यवसायीहरुको भूमिका प्रभावकारी भएन हो ?
निश्चय नै । टानले जुन खालको नेतृत्वदायी भूमिका खेल्नुपथ्र्याे त्यो गर्न सकेन । राहत बाँड्नु नराम्रो भन्न खोजेको होईन । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन भएको नाताले पर्यटन क्षेत्रको हितानुकुल काम गर्नुपथ्र्यो । त्यस्तै ट्रेकिङ व्यवसायीहरुले चाँहि आफ्ना व्यवसायी, एजेन्ट्सहरुलाई नेपाल आउन विश्वस्त पार्नुपथ्र्यो ।

पछिल्लोपटक पर्यटन व्यवसायीहरु विभाजित देखिन्छन्, तपाइँहरु एकताबद्ध भएर अगाडि बढ्न नसक्नुको कारण के होला ?
विभिन्न गुट÷उपगुट र विभाजनको मैले पहिल्यैदेखि विरोध गर्दै आएको छु । बिडम्बना नै भन्नुपर्छ । चुनावै हुँदा पनि यो पार्टी उ पार्टी भनेर गइन्छ र पछि जाँदा काम गर्ने वातावरण पनि गाह्रो भईहाल्छ नि । तर, नेपालमा कुनै पनि संघसंस्था यो रोगबाट अछुतो छ जस्तो लाग्दैन, यहिमध्ये टान पनि एक हो जस्तो लाग्छ । र, कतिपय पर्यटन व्यवसायीहरुले प्रत्यक्ष राजनीतिमा पनि हात हालेको कारणले यो रोग टानमा अरु संस्थाभन्दा बढी झांगिएको हो । यहि कारणले काम गर्नमा असर परेको छ । त्यस्तै एउटा सफल व्यवसायी भइसकेपछि समाजसेवा गर्छु भन्ने हिसाबले राजनीति गर्नेहरु पनि छन्, यसलाई सकारात्मक नै मान्नुपर्छ । तर, आवश्यकता भन्दा बढी भएको पक्कै हो ।

पर्यटनबारे स्वयं व्यवसायीहरुले नै गलत प्रचार गरिरहेका छन् भन्ने कुरा पनि आइरहेका छन् नि ?
व्यवसायीहरु आफैँले गलत प्रचार गरे भन्ने कुरा पूर्ण रुपमा सत्य होइन । यद्यपी सामाजिक सञ्जालको माध्यमबाट सानो पराकम्पन जाँदा पनि प्रचार गरेर तर्साउने गरिएको छ । व्यक्तिगत रुपमा यस्तो नगर्न मैले आफ्ना गाइडहरुलाई सूचित गर्ने गरेको छु । तर, व्यवसायीमात्र नभएर सबैले भत्किएको कुरालाई भत्किएकै भनेर भन्छन् । राहत संकलनमा चाँही नकारात्मक कुराको प्रचार गरेर व्यक्तिगत लाभ उठाउने काम देखिएको हो ।

व्यवसायीहरुको प्रयासमा भएका ठोस उपलब्धीहरु के हुन् ?
तत्काल ठोस उपलब्धि देखिएको छैन । व्यवसायीहरुले आआफ्नो ठाउँबाट सक्दो पहलकदमी अगाडि बढाइरहेका छन् । पर्यटनसँग सम्बन्धित व्यवसायहरुमा नराम्रो असर परेको छ । अहिले त अफसिजन छ । तर, अव नजिकिँदै गरेको सिजनमा तयारी कम छ, सो गर्नका लागि समय पनि कम छ । अब हामीले गर्ने भनेको सन् २०१६ का लागि हो ।

आउँदो सिजनमा पर्यटकलाई नेपाल आउने वातावरण बनाउन के गर्नुपर्ला ?
हाम्रा ९० प्रतिशत होटलहरु सुरक्षित छन्, लाङटाङ र मनास्लुबाहेकका पर्यटकीय रुटहरु सुरक्षित छन् । पुराना सम्पदाहरु र घर÷भवनहरु भत्केका हुन् । यी कुराहरुलाई हामीले ठाउँमा पु¥याउनुपर्छ । यर्थाथको धरातलमा ढुक्क हुने स्थिति छ, तर प्रचारप्रसारको हिसाबमा यसलाई जोडबल गर्नुपर्छ ।  

आगामी सिजनमा हाम्रो पर्यटनको अवस्था कस्तोे होला जस्तो लाग्छ ?
मेरो कम्पनीको कुरा गर्दा ७५ प्रतिशत व्यापार खस्कने स्थिति मैले देखेको छु । समग्र पर्यटनको कुरा गर्दा पर्वतीय पर्यटनको साहसिक पर्यटनबाहेक अन्यमा ठूलै असर पर्ने देखिन्छ । मेरो विचारमा अघिल्ला वर्षहरुको आगमनलाई आधार मान्दा एक चौथाई वा सोभन्दा केही बढी पर्यटक आउँछन् भन्ने आँकलन गर्न सकिन्छ । यसरी नै कुर्ने, र सूस्ताउने हो भने पर्यटन पुनरुत्थानमा लामो समय लाग्ने देखिन्छ । सकारात्मक प्रचारप्रसारका साथमा पुनर्निनिर्माण र नवनिर्माणमा ध्यान दिनसके पर्यटन आगमन बढन सक्छ । तर, यस मामिलामा सरकारी तवरबाट उत्साहजनक काम हुन सकेको छैन । त्यस्तै टान, एनएमएलगायतका सरोकारवाला संस्थाले आफ्ना गतिविधिहरुलाई तिव्रता दिनुपर्छ ।

पर्यटन पुनरुत्थानको सम्बन्धमा सरकार कहाँ चुकेको हो ?
सरकार अलमलमा परेको छ । अन्य क्षेत्रको पुनरुत्थानका लागि पहल गरेपनि पर्यटन क्षेत्रमा यति धेरै असर पर्दा खास नीति र कार्यक्रम ल्याएको छैन । पर्यटनलाई सानो क्षेत्र भनेर चासो नदेखेको वा हेलाँ गरेको आभास गरेको छु, मैले । पर्यटन क्षेत्रले कति रोजगार सिर्जना गरेको छ, वैदेशिक मुद्रा आर्जनमा सहयोग गरेको छ, यो कुरालाई सरकारले अवमूल्यन गरेको जस्तो लाग्यो । पर्यटन व्यवसायीहरुलाई सहयोग गर्नुपर्दैन, व्यवसायी आफैँ सक्षम छन् । नेपाल सुरक्षित छ भनेर अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्नुपर्छ । पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई सकारात्मक सन्देश प्रवाह गरेमात्र पनि पर्यटक आगमनमा धेरै सहयोग मिल्छ । यसका लागि फार्म ट्रिपजस्ता विभिन्न कार्यक्रमहरु गर्न सक्छ । सुरक्षित क्षेत्रहरुको यथार्थ प्रचार गरेर विश्वस्त बनाउन सकेको भएपनि पर्यटक आगमन बढ्ने थियो तर, यो काम सरकारले अहिलेसम्म गर्न सकन ।

पर्यटन पुनरुत्थाका लागि तत्काल हुनुपर्ने कामहरु के के हुन् ?
यो वर्षको लागि त निक्कै ढिलो भइसक्यो, पर्यटकले पनि तयारी र समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । अब आगामी अंग्रजी वर्षलाई केन्द्रित गरेर जहाँ मर्मत, पुनर्निनिर्माण र नवनिर्माण गर्नुपर्ने हो त्यसलाई प्राथमिकताको आधारमा गति दिन सकियो भने आउँदो सिजनलाई धेरै सहयोग मिल्छ ।

टान निर्वाचनको मिति नजिकिदै छ । आगामी निर्वाचनबारे तपाईको विचार के छ ?
टानको निर्वाचन नजिकिँदै छ, यसको विषयले बजार तातेको महसुस मैले पनि गरेको छु, मिडियामा पनि यि कुराहरु आइरहेका छन् । टानमा पहिल्यैदेखिको एउटा अभ्यास के छ भने पहिलो कार्यसमितिमा सहसचिव भएको अहिले महासचिव, कोषाध्यक्ष भएकोले माथिल्लो अर्को पद त्यस्तै पहिलो कार्यसमितिमा उपाध्यक्ष वा महासचिव भएको अध्यक्ष दाबी गर्ने परिपाटी छ । यो प्रणालीले एउटै मान्छे एउटै संस्थामा निरन्तर रहिरहने कुरामा बल पुग्छ । बरु यति १८ सय, दुई हजार पर्यटन व्यवसायीमध्येबाट नयाँ, स्वतन्त्र र संस्थालाई गति दिन सक्ने दृष्टिकोण भएका  मान्छेहरुलाई प्रवेश दिइनुपर्छ । हाल पर्यटन व्यवसाय धरासायी भएको स्थितिमा अहिलेको कार्यसमितिले जुन मात्रा र गतिमा काम गर्नुपथ्र्यो त्यो नदेखिएको अवस्थामा नयाँ सेटिङका साथ संस्थालाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ । यसका लागि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघकोे तर्फबाट कुनै महत्वपूर्ण पदमा मेरो नेतृत्वमा टानमा जानुपर्छ भन्ने कुरा मैले गरिसकेको छु । यसमा म भन्दा सक्षम अरु पनि हुनुहुुन्छ, उहाँहरु पनि आउनुभएको छ । अब सबैको सहमतिमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघले जे निर्णय गर्छ त्यसलाई स्विकार गरेर अगाडि बढ्ने हो । म पनि इच्छुक एक व्यवसायी हो । राजनीतिकदेखि व्यवसायीक हिसाबले म पनि सक्षम छु भन्ने लाग्छ । सिधै भन्दाखेरी टानको भावी महासचिवको लागि मेरो इच्छा हो, यसमा मैले दावेदारी प्रस्तुत गरेको हुँ । टानमा पुरानोलाई मिलाउँदै नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ ।

टानभित्र हुने गरेको अस्वस्थ प्रतिपर्धालाई तपाइँले कसरी लिनुभएको छ ?
अस्वस्थ प्रतिस्पर्धा जाँदाखेरी हुन्छ होला । मेरो कार्यकालमा मेरो कार्यसमितिले गरेका कामहरु सबैले राम्रो भन्नुपर्छ भन्ने त छैन किनभने कतिपय कुराहरु चित्त नबुझिकन पनि गर्नुपर्ने हुन्छ, ग्रुपमा छँदा । अरु कुरा टानमा बाहिर आएजस्तो अनियमितताको विषयमा म कार्यसमितिमा छउन्जेल देखिन । कतिपय गर्नुपर्ने भन्दा फरक कामहरु भए होलान्, सबै टे«किङ कम्पनी र व्यवसायीहरुलाई चिक्त बुझ्ने काम गर्न सकिएन होला, यो कुरा स्विकार्नु पर्छ । अस्वस्थ अभ्यासकोे कुरा हरेक राजनीतिले असर पार्ने भएपछि प्रतिस्पर्धा त भइनैहाल्छ ।  

अगामी निर्वाचनमा सहमति कायम गरेर जाने सम्भावना देख्नुहुन्छ ?
मेरो पालामा हामी सहमति कायम गरेर गएका थियौँ, यसले पनि काम गर्न निकै सहज भएको थियो । अब पनि सहमति कायम गरेरै जाँदा राम्रो हो, यसको सम्भावना पनि नभएका होईन । केही कुरामा सम्झौता गरेर अगाडि बढ्दा सन्देश पनि राम्रो जान्छ । सबै पक्ष, तह र तप्कालाई मिलाएर लैजादा राम्रो हुन्छ ।

तपाईंको बिचार