Friday, July 21, 2017  |    

मजदुर संगठन ठालु बन्न होईन समस्या समाधान गर्न हो :रामप्रसाद मैनाली

प्रकाशित मिति: 2017/05/21

जेठ ७, काठमाण्डौ । यातायात मजदुरहरुको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएका व्याक्तिका रुपमा चिनिन्छन-रामप्रसाद मैनाली ।

नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य मैनालीले हालै मात्र पर्यटन यातायात स्वरोजगार मञ्चको स्थापना गरी साना व्यवसायीहरुको हकहितमा जोड दिदै आएका छन ।
यातायात मजदुरहरुको बर्तमान स्थीति र मजदुर संघले गरेका कामहरु बारे बुझ्ने कोशिस गरेको छु ।
प्रश्तुत छ, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य तथा पर्यटन यातायात स्वरोजगार मञ्चका अध्यक्ष रामप्रसाद मैनाली सँगका केही सवाल ।

१. मजदुर संगठनमा रहिसकेको मान्छे  स्वरोजगार मञ्चतिर लाग्नुभाछ, यसको आवश्यक्ता किन ?
मजदुर संगठनले सबै यातायात व्यावसायीको हकहितको लागि सोचेको भएपनि कही न कही साना र छरिएर रहेका व्यवसायीहरुले भोग्नुपरेका पेशागत समस्यामा खास ध्यान दिन सकेको देखिएन । यद्यपी म आफैपनि मजदुर संगठनमा आबद्ध भएको व्यक्ति हुँ । सरकारले पछिल्लो समय जसरी रातो नम्बर प्लेटका सवारीलाई अबैधानिक भन्दै  बिभिन्न बाहानामा दुःख दिने काम गरेको छ । यसको अन्त हुनुपर्छ, पर्यटक बोकेरै यात्रा गरेका समयमा पनि आपराधिक रुपमा लिएर जसरी व्यवहार प्रश्तुत गर्ने गरिएको छ, यसको अन्त्यका लागि हामीले ३ बुँदे माग पनि सरकार समक्ष पेश गरिसकेका छौ, यसर्थ व्यवसायीका आवाजलाई अझ मजबुत बनाउनको लागि हामी लागि परेका छौ, मेरो जोडबल यसैमा रहनेछ ।

२. यातायात मजदुरले भोग्दै आएका समस्या चाहि कस्ता छन ?
पहिलो त पारिश्रमिक नै हो । नेपाल सरकारले दैनिक ८ घण्टा काम गरेबापत  ७२ सय रुपैया पारिश्रमिक तोकेको छ । यो अपर्याप्त त छदै छ, त्यो भन्दा ठुलो समस्या चाहि निजी क्षेत्रमा काम गर्ने मजदुरहरु यसको प्रत्यक्ष मारमा परेका छन । थोरै नै सही सरकारी तहमा दैनिक ८ घण्टा काम गर्दा ७२ सय पाउने तर निजी क्षेत्रमा संलग्न मजदुर साथीहरुले १८ घण्टा खट्नुपर्ने र एकदमै न्यून तलबमा काम गर्नुपर्ने स्थीतिले मजदुर साथीहरुको श्रम शोषण भैरहेको छ, यो चिन्ता र समस्याको बिषय हो । यसलाई हटाउन हामी लागि परेका छौ ।

३. मजदुरको समस्या समाधान गर्ने भन्नुहुन्छ, मजदुर संगठन खोल्यो, दुईचार जनाको गुट तयार गरेर ठालु बन्ने प्रबृत्ति मात्रै छ, अनि ?

होला, कही कतै । तर अखिल नेपाल यातायात मजदुर संघमा आवद्ध हुनुको अर्थ ठालु बन्न होईन । मजदुर साथीहरुको समस्या समाधानमा केही गर्न सकियोस भन्ने नै हो । अझैपनि धेरै समस्या बिद्यमान हुनुको अर्थमा तपाईले भनेको कुरा सहि होला । तर संगठनको काम सम्बन्धीत क्षेत्रलाई माथि उकास्नमै केन्द्रित हुन्छ, मजदुर संगठन ठालु बन्न होईन समस्या समाधान गर्न हो, हाम्रो ध्यान यसैमा केन्द्रित छ । 

४. अबको कार्यनिती के छ ?
 पर्यटन जिल्ला समिती हुँदै यातायात मजदुरहरुको केन्द्र अबिधेशन भर्खरै सम्पन्न भएको छ । साधुराम महर्जन र सँगै १५ जनाको टोली निर्वाचीत भएर आएको छ । पर्यटन मजदुरहरुले भोगेका समस्याहरु बारे निर्वाचीत कार्यसमिती अवगत नै छ, आशा गरौ समयक्रमले मजदुर साथीहरुले भोगेका समस्या समाधान हुँदै जानेछन, हामी यसैमा केन्द्रित छौ ।

 

तपाईंको बिचार