Saturday, November 18, 2017

व्यवसायीहरुको शुभेच्छा भोटमा बदलिने छ, शुभेच्छाको संकेत जितमा देखेको छु :कुलबहादुर गुरुङ

प्रकाशित मिति: 2017/06/12

जेठ २९, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ –एनएमए)को निर्वाचन नजिकिदै गर्दा नेतृत्वमा आकांक्षीहरु बढ्न थालेका छन ।

हिमाल आरोहणको व्यवस्थापकिय जिम्मेवारी सम्हाल्दै आएको –एनएमए) मा व्यवसायी र आरोही तथा मजदुरबिचको व्यवसायिक सुरक्षा सधैजसो उमेद्धवारहरुको एजेण्डा बन्ने गरेको छ ।
जुलाईको पहिलो हप्ता हुने निर्वाचनबाट आगामी नेतृत्वबारे अन्तिम टुंगो लाग्ने भएपनि नेतृत्वका आकांक्षीहरु व्यवसायीहरुबिच खुलेर आफ्नो उमेद्धवारीको पुष्टी गर्न तल्लिन देखिएका छन ।
पछिल्लो समय एनएमए नेतृत्वमा आकांक्षीहरुको भिड बढ्दै जाँदा महासचिवमा कुलबहादुर गुरुङको नाम चर्चामा छ ।
गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष, गणेश हिमाल पर्यटन व्यवसायी संघका पूर्व अध्यक्षका साथै हिमाली समुदाय जलबायू संघको बर्तमान सचिवका रुपमा थुप्रै पर्यटकीय संघसस्थामा नेतृत्व प्र्रदान गरिसकेका छन । 
पर्यटनमा जिबनका २७ बर्ष खर्चिसकेको बताउने गुरुङ मुलधारको पर्यटन व्यवसाय र पर्वतिय आरोहणमा पनि जानकार मानिन्छन । उसो त यसभन्दा अगाडि टानको निर्वाचित द्धितिय उपाध्यक्षका रुपमा समेत एनएमए र टानबिचका कार्यशैलीको सुक्ष्म अध्ययन गर्दै सहकार्य गरिसकेका व्यक्ति हुन, कुल बहादुर गुरुङ । 
एनएमएको व्यवस्थापकिय सुधार र समयानुकुल अन्तर्राष्ट्रिय बजारमा यसको चिनारी गर्दै व्यवसायी र आरोहीबिचको सम्बन्ध मजबुत बनाउन आफ्नो नेतृत्व सक्षम हुने उनको दाबी छ ।
प्रश्तुत छ, नेपाल पर्वतारोहण संघ(एनएमए)मा महासचिव पदमा उमेद्धवारी र अबको कार्यनितिमा केन्द्रित रहेर कुलबहादुर गुरुङ सँगका केही सवाल ।

१. एनएमएको महासचिवमा उमेद्धवारी दिने निर्णय गर्नुभएछ, किन ?

हो, यसपटक –एनएमए) मा मेरो महासचिवमा उमेद्धवारी रहनेछ । जिबनको कर्म सुरु पर्यटनबाटै भयो, अहिले जेजति प्राप्त गरे पर्यटनबाटै गरे, भविश्यमा पनि यो क्षेत्र छोडेर अन्त जाने सोच छैन । जिबनको २७ बर्ष यसैमा बिताए । यसबिचमा यस क्षेत्रका धेरै आरोह अवरोहसँग परिचित भएको व्यक्ति हुँ । यहाँसम्म आईपुग्दा गुरुङ पर्यटन व्यवसायी संघ, गणेश हिमाल, टान लगायतका अन्य पर्यटकीय संघसंस्थामा नेतृत्वदायी भुमिका खेल्दै आएका कारणले पनि संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा मेरा आफ्नै अनुभव छन, यसर्थ पछिल्लो समय कामभन्दा पनि दलिय राजनितीको प्रभाव जसरी पर्यटकीय संस्थामा देखिएको छ, यसमा एनएमए लाई माथि उठाउनु पर्छ भन्ने अर्थमा नै म अगाडि बढेको छु । कुनै पक्षसँग पूर्वाग्रह राख्ने भन्दा पनि स्वस्थ प्रतिष्पर्धाबाट मजदुर र व्यवसायीबिचको सामिप्यता कायम गर्दै अघिल्लो कार्यसमितीले गरेका राम्रो कामको अंगिकार तथा एनएमएलाई स्पष्ट मार्गनिर्देश गर्न सक्छु, त्यो क्षमता म सँग छ, यसमा थोरबहुत साथीभाईको शुभेच्छाको कारणले पनि महासचिवमा उमेद्धवारीको तयारी अगाडि बढाएको हुँ । व्यवसायी, मजदुर साथीहरुको शुभेच्छा प्राप्त हुनेमा आशाबादी पनि छु ।

२. तपाई कुन पार्टी ?
नेपाल पर्यटन व्यवसायी संघ निकट हुनुको नाताले म आफुलाई डेमोक्रेटको रुपमा परिचत गराउँछु ।

३.तर पर्यटनमा कुनैपनि संस्थामा उमेद्धवारी घोषणा गर्दैगर्दा माओबादीको भोट चै निर्णायक हुन्छ, भनिन्छ नि ?
होईन, एनएमएमा व्यवसायीको प्रतिनिधी भएर जाने हो, दलिय कार्यकर्ता भएर होइन भन्ने मेरो बुझाई हो । अन्य साथीहरुले पनि संस्थामा राजनीतिलाई प्राथमिकता दिनुभएको छ, भने त्यो बिल्कुल गलत हो । हामी सबै कुनै न कुनै बिचार सिद्धान्तमा अवश्य पनि संलग्न छौ, तर त्यसको दलिय प्रभाव संस्थामा देखिनु हुँदैन भन्ने मात्र हो । रह्यो कुरा कुन पार्टीको भोट कति भन्ने त्यो व्यवसायी साथीहरुले मुल्यांकन गर्नु नै हुनेछ । दलिय राजनीतिबाट माथि उठेर सोच्ने हो भने आजको दिनमा एनएमए लाई अन्तर्राष्ट्रिय क्लबहरु सँग साझेदारी गरेर अन्तर्राष्ट्रिय फोरममा परिचित गराउनु आवश्यक छ, बिशेषत ः भुकम्पपछिको स्थीतिमा पर्वतिय पर्यटनमा पनि नकारात्मक असर परेका कुराहरुलाई चिर्दै सहमति र सहकार्यको बाटोमा एनएमएलाई अगाडि बढाउनुको बिकल्प छैन ।
४. एनएमएमा राजनीतिक प्रभाव छ की छैन ?

 छँदै छैन भनेर भन्न चाहन्न । यद्यपी अन्य संस्थामा भन्दा सुरुवाती अवस्थामा मात्रै छ, भन्ने मेरो बुझाई हो । अब आउने नेतृत्वले यी कुरालाई व्यवस्थापन गर्दै अगाडि बढ्नुको बिकल्प छैन ।

५. पर्यटन क्षेत्रको बिकास गर्ने नाममा दुईचार जना भेला पारेर संस्था खोल्ने अनि ठालु प्रबृत्ति देखाउने स्थीति पनि छ नी ?
यहाँले भनेजस्तै यत्तिका पर्यटकीय संस्थाहरुको बिकास हुँदै गर्दा व्यवसायीको पक्षमा तिनले के कति काम गरे त्यो सोचनिय बिषय छ, यद्यपी हुँदै नभएको भन्न मिल्दैन । मेरो बुझाईमा त कुनै पनि संस्थामा नेतृत्वमा पुगीसकेपछि दिन जाने हो, लिन जाने होईन, आफ्नो क्षमताले संस्थाको गरिमालाई बढाउन सकिएन भने संस्थामा रहनु र नरहनुको अर्थ छैन । यस्तोमा व्यक्तिगत रुपमा भन्नुहुन्छ भने म ठालु बन्न होईन, व्यवसायीको हकहितका लागि केही गरुँ भनेर नै नेतृत्वमा दाबी गरेको हुँ । हिमालकै काखमा जन्मिए, जिबन बिश्वास आज सम्म पनि यही क्षेत्रमा साँचिरहेको व्यक्ति भएको नाताले पनि समस्याहरु हुन सक्छन, त्यसलाई निराकरण गर्दै जानुपर्छ भन्ने मेरो बुझाई हो ।

६. एनएमएमा चै ठालुपन छ की छैन ?

मैले यसअघि पनि भने छँदै छैन, सबै राम्रै मात्र छ भन्ने स्थीति छैन, मजदुर र व्यवसायीबिच विश्वासमा समस्या छ । सबल बातावरण बनाउँदै अगाडि बढ्नुपर्छ । मेरो ध्यान यसैमा केन्द्रित छ ।

७. एनएमएका कमजोरीहरु चै के के हुन ?
एनएमएले गरेका कार्यहरु अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेनन भन्ने पर्यटन बजारमा सधै गुनासो रहने गरेको छ । यसलाई हटाउनुपर्छ । अर्कोकुरा व्यवसायीहरुलाई पर्वतिय तालिम, महिलाहरुलाई आरोहणमा उत्प्रेरणाको कमि, आरोहीहरुको कल्याणकारी कोषलाई प्रभाबकारी बनाउने तथा व्यवसायीहरुको लागि पनि सुरक्षित क्षेत्रको रुपमा बिकास गर्नको लागि आरोही र मजदुरहरुको जिबन सुरक्षाको जिम्मालाई मजबुत बनाउनुपर्ने टड्कारो रुपमा देखिएको छ । यस्तै  हिमाल आरोहणका क्रममा उठाइएका रोयल्टी र यसको प्रयोग तथा व्यवस्थापनमा एनएमएले प्रभावकारी भुमिका खेल्नुपर्दछ ।

८. तपाईको जित्ने आधार चै के ?

 पहिलो कुरा त अब कुनै पनि संस्थाको नेतृत्व युवाले गर्नुपर्छ भन्नेमा व्यवसायी साथीहरुले जोड दिदै आउनुभएको छ, यही आवश्यक्ताको सिद्धान्तमा टेकेर मैले उमेद्धवारी दिने घोषणा गरेको हुँ । २७ बर्षको पर्यटन क्षेत्रको अनुभवमा गुरुङ पर्यटन, गणेश हिमाल, टान लगायतका पर्यटकीय संस्थामा नेतृत्वदायी भुमिकामा रहेर यस क्षेत्रलाई थोरबहुत बुझेको छु, भन्ने लाग्छ । 
यही बिचमा लामो समयदेखी एनएमएमा सदस्यका रुपमा रहँदै गर्दा नेपालका पर्वतारोहणसँग मेरो नजिकको सम्बन्ध र बुझाई भएका कारणले एनएमएलाई मैले राम्रैसँग बुझेको छु । पछिल्लो समय टानमा द्धितीय उपाध्यक्षका रुपमा रहँदा(टान र एनएमए)का धेरै गतिबिधी सहकार्य हुँदै अगाडि बढेकाले व्यवसायी, आरोही साथीहरुका समस्याहरु बारे पनि राम्रैसँग अवगत छु भन्ने लाग्छ । अर्को कुरा म आफै ट्रेकिङ व्यवसायी पनि हुनुले पर्वतारोहणका प्राबिधीक पक्ष सफलता र असफलताको पगरी बेहोर्दै अटल रुपमा लम्कीरहेको यात्री हुँ । यसर्थ एनएमएका नेतृत्वसँग गरिएका सहकार्य र यसअघि टान लगायतका संस्थामा मैले बहन गरेका जिम्मेवारीलाई जसरी साथीहरुले शुभेच्छा व्यक्त गर्नुभएको छ, यो व्यवसायी साथीहरुले नै जगाईदिएको आवश्यक्तासँग सम्बन्धीत हुनुको नाताले पनि उहाँहरुको शुभेच्छा भोटमा बदलिने छ, शुभेच्छाको संकेत जितमा देखेको छु ।

 

 

तपाईंको बिचार