Tuesday, September 19, 2017

शेर्पा भन्छन– नेपाल सस्ता टुरिष्टहरुको डम्पीङ साईट होईन, अब ब्राण्डेड पर्यटनमा जोड दिऔं

प्रकाशित मिति: 2017/06/23

असार ९, काठमाण्डौ । नेपाली पर्यटन क्षेत्र सुधारका लागि भन्दै पर्यटन बजारमा दर्जनौ बिकासे संस्थाहरु अस्तीत्वमा छन । सबैको मुख्य ध्येय यथास्थीतिको पर्यटन बजारलाई माथि उकास्ने भन्ने गरेपनि बिकासे संस्थाहरुको भुमिका त्यति प्रभावकारी देखिएको छैन, धेरैजसो अवस्थामा कुनै बिशेष राजनीतिक दलको मुखपत्रको भुमिका समेत निर्वाह भईरहेको पाईन्छ ।

यही सन्दर्भमा पर्यटनमा शेर्पा समुदायको नेतृत्व स्थापित हुन नसकेको र सधै अरुलाई नेतृत्वमा पुर्याउन भ¥याङको काम गर्ने र सधै ओझेलमा पारिएको भन्दै शेर्पा पर्यटन व्यावसायी संघ स्थापना भएको छ । अहिले कानुनी दर्ता प्रक्रिया र सदस्यहरुमाझ बिस्तार हुने क्रममा रहेको यो संघको औचित्य र आवश्यक्तामाथि केन्द्रित रहेर बुझ्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, शेर्पा पर्यटन व्यवसायी संघ नेपालका महासचिव संगम शेर्पासँगका केही सवाल ।

१. शेर्पा पर्यटन व्यवसायी संघले बर्तमानमा के गरिरहेको छ ?
हामी अहिले सुरुवाती चरणमा छौ, ४ महिना जति मात्रै भयो संस्था स्थापना भएको । यसअर्थमा संस्था दर्ता र सदस्यबिस्तारमा केन्द्रित छौ ।

२. पर्यटनमा यतिका संस्था छन, कुनै एक जातिमात्रै समेटेर संगठनको आवश्यक्ता किन ?
हो । यहाँले भनेको सही हो । पर्यटन बिकासको लागि बिकासे संस्थाहरुको यहाँ कमी छैन । शेर्पा व्यावसायीहरुको यो संगठन तयार हुनुभन्दा केही समयअगाडि सम्म पनि शेर्पा व्यवसायी साथीहरु मौन रुपमा नै बस्नुभएको थियो ।
तर सोचनिय बिषय, पर्यटनमा यत्तिका संस्थामा सबैतिर शेर्पा आवद्ध हुने उनीहरुको भोट चाहिने र नेतृत्वमा पुग्नपर्ने, तर शेर्पाको नेतृत्व कही कतै नभेटिएपछि सधैभरी कसैको भरिया र भोट बैङ्क मात्र रहिरहनु हुदैन भनेर नै हामीले संस्था स्थापना गरेका हौ, यसका पछाडि पर्यटनको बिकासकै लागि हो ।
दोस्रो कुरा हिमाल र पर्यटनसँग प्रत्यक्ष साईनो भएका शेर्पा ओझेलमा पर्ने र ठगी खाने व्यवसायीहरु स्थापित हुँदै जाने कुराले नेपालको पर्यटन चै बिश्वकै सस्तो भनेर गर्व गर्ने काम मात्रै भयो । सस्ता पर्यटक नेपाल आउने र प्रदुषणमात्रै बढाउने काम भयो ।
यसले पनि पर्यटन बजार माथि उठ्न नसकेको यथार्थ हो । यही कुरालाई पर्यटन संस्कृति सँग अभ्यस्त भएका शेर्पाहरुले अबपनि टुलुटुलु हेरेर बस्ने हो भने ब्राण्डेड संस्कृति चै लोप हुने अनि सस्ता पर्यटक भेला पारेर आम्दानी भन्दा बढि प्रदुषणमात्रै फैलाईरहने स्थीतिले पर्यटन माथि जाँदैन, यसलाई कुनै पनि हालतमा सुधार्नुपर्छ, नेपाल सस्ता पर्यटकको डम्पीङ साईट बन्नु हुदैन भनेर नै शेर्पा पर्यटन व्यवसायी संघ स्थापन गरेका हौ । हिमालका फेदमा जन्मीयौ, यहीको गास बासमा रमायौं भने यसको प्रवद्र्धनको जिम्मा नक्कली नेतृत्वबाट सम्भव छैन भन्ने सोचेर नै संघको आवश्यक्ता महशुस गरिएको हो ।

३. यहाँले यसो भनिरहँदा दुईचार जना भेला पार्ने अनि ठालुबादी बन्ने होड त होईन ?
सुरुमा बिशुद्ध राजनीति क्षेत्रबाट टाढा छौ भन्ने, पछि कुनै दलको मुखपत्र बन्ने र उसैले अहएको, खटाएको गर्ने स्थीति अहिले पनि पर्यटन बजारमा बिद्यमान छ । यसअर्थमा तपाईले भनेको सही होला । हामीले स्थापना गरेको शेर्पा व्यवसायी संघमा चाही हुँदै हुँदैन भनेर भन्न चाहन्न तर अहिलेसम्म छैन, ठालुबाद हामी कसैलाई चाहीएको बिषय होईन । हामी सबै पर्यटनको बिकासमा केन्द्रित छौ ।

४. संगम शेर्पा चै ठालुबादी हो कि होईन ?

होईन, मेरो बिगत र आज जेजति प्राप्त गरेको छु, मैले कसैसँग ठालु बन्नु पर्दैन भन्ने मेरो बुझाई हो । दुर्गम ताप्लेजुङमा मेरो बाल्यकाल बित्यो, २३ बर्षअगाडि काठमाण्डौ प्रवेश गरे, गाँउमा रहँदा अनेक किसीमका दुःख कष्ट बेहोरेको व्यक्ति हुँ । आज बिदेशमा अध्ययन गरेर फर्किए, पर्यटनमा थोरबहुत स्थापित भएकै छु, यसअर्थमा मेरो स्वभाव म गर्न सक्छु, मैले गर्नुपर्छ भन्ने हो, ठालुबादी होईन । पछिल्लो समय प्राङ्गारिक कृषि अभियान्ताको रुपमा अघि बढ्दैछु ।

५. अबको एजेण्डाहरु केके छन ?
 व्यावसायीहरुलाई गोलबद्ध गर्ने र हकहितका मुद्धालाई मजबुत बनाउनुका साथै गुणस्तरीय पर्यटनको लागि पहल गर्ने हाम्रो प्रतिबद्धता हो । यसअर्थमा नेपाल सस्ता पर्यटकहरुको गन्ती गर्ने क्षेत्रको रुपमा मात्रै सिमित हुनुहुदैन भन्ने हाम्रो बुझाई हो । यसका साथै बिद्यमान पर्यटकीय संस्थाले शेर्पाहरुलाई जसरी भोट बैङ्कको रुपमा प्रयोग गरिरहेको अवस्था छ त्यसलाई अन्त्य गरी सबै व्यावसायीको साझा हितका लागि हाम्रो प्रयास जारी छ । 

 

तपाईंको बिचार