Thursday, November 23, 2017

खबरदार एनएमएलाई राजनीति मुक्त नगरिए छुट्टै संस्था खोल्छौं : आरोही पेम्बा दोर्जे

प्रकाशित मिति: 2017/07/26
पेम्बा दोर्जे शेर्पा, सगरमाथा आरोही
पेम्बा दोर्जे शेर्पा, सगरमाथा आरोही

यही साउन २१ गते हुन गईरहेको नेपाल पर्वतारोहण संघको निर्वाचनको सरगर्मीले यतिखेर पर्यटन क्षेत्र तात्तिरहेको छ । आरोहण र यससँग सम्बन्धित संस्था भएकाले संघको निर्वाचनमा आरोहीहरुको विषेश चासो र उत्सुकता पनि रहेको हुन्छ । यसै शिलशिलामा रहेर १६ पटक सगरमाथा आरोहण गरिसकेका ४ वटा गिनिज व्र्लड बुक रेकर्ड होल्डर तथा पर्यटन व्यवसायी पेम्बा दोर्जे शेर्पा संग गरिएको संवादः

नेपाल पर्वतारोहण संघमा आरोहीहरु कस्तो नेतृत्व चाहान्छन ?
यो संघ आरोहीहरुको हकहित र सहजताका लागि स्थापना भएको हो । त्यसकारण हामी सबै आरोहीहरुको पहिलो घर नै यही हो तर केही बर्ष यता एनएमएले आरोहीहरुको लागि भन्दा पार्टीको लागि धेरै काम गरेको छ । त्यसकारण हाम्रो पहिलो चाहाना नै आरोहीहरुको लागि काम गर्ने नेतृत्व आओस भन्ने हो ।
तपाईले देखिरहनु भएको छ, नेतृत्वको लागि विभिन्न पार्टीको ब्यानरमा उम्मेदवारी दर्ता गराईदैछ, यस्तो

अवस्थामा आरोहीहरुको लागि कसरी फाईदा हुन सक्छ ?
त्यही भएर त हामी सबै आरोहीहरु अहिले पछाडि नै बसेका छौ । माथिल्लो स्तरमा नै नेतृत्वको लागि समझदारी भयो भने ठिकै छ । यदि त्यसो हुन सकेन भने हामी आरोहीसाथिहरु मिलेर छुट्टै संगठन खोल्ने सोचमा छौ । जब आरोही नै एनएमएको प्राथमिकतामा पर्दैनन् भने त्यस्तो संस्थाको के काम ?

तपाईलाई लाग्छ तपाईहरु संगठन चलाउन सक्नु हुन्छ ?
किन नसक्नु हामी बकाईदाका साथ संगठन चलाउन सक्छौ । हेर्नुहोस एनएमएले पनि देश विदेशमा हाम्रै नाम बेचेर आफुलाई चिनाउने हो । जब हामी नै त्यसमा रहेनौ भने उसले कसरी के गर्न सक्छ । आरोहीका नाममा यतिका सेवा, सुविधा छन्, यतिका रकम सरकार र विदेशबाट आउँछ कता जान्छ त्यो ? हामीलाई बताउनु पर्छ ।

तपाईको भनाईको अर्थ एनएमए अपारदर्शि भयो भन्ने हो ?
हो । एनएमएले यतिका हिमाल आरोहणको लागि अनुमति दिन्छ, त्यसको रकम, अनि विदेशबाट दाताले दिने रकम सरकारी रकम कता जान्छ । जब की हामी आरोहीहरुको धेरैजसो समय त हिमाल र घरमै बित्ने गर्छ । संस्था चै हाम्रो नाममा खोलिने अनि हामी चै त्यसका क्रियकलापबाट अनभिज्ञ हुने यस्तो पनि हुन्छ ? एनएमए विश्वभर प्रख्यात छ किन त ? हाम्रै कारणले गर्दा हो ।

आरोहीहरुको चित्त दुःखाई कहाँ हो प्रष्ट पारिदिनुस त ?
मैले अघि नै, भनिसके एनएमएले पर्वतीय पर्यटनको लागि भन्दा राजनीतिक पार्टी र व्यत्तिगत स्वार्थको लागि काम गरेको तपाई हामी सबैले देखिरहेकै छौँ । हाम्रा आरोही साथिहरु हिमाल आरोहणको क्रममा मर्छन् तिनीहरुको नाममा लाखौँ रकम उठाईन्छ तर त्यो रकम कता जान्छ ? हाम्रा सन्तानहरुलाई छात्रवृतिमा पढाउन पनि राजनीतिक पार्टीको सहयोग लिनु पर्ने हुन्छ किन ? यसैका लागि खोलिएको हो एनएमए ? हाम्रो एउटै माग हो आरोहीका लागि काम गर्ने संस्था एनएमए जुन राजनीतिक भागवण्डाबाट टाढा रहोस् हामी यहि चाहान्छौं ।

अबको नेतृत्व सबल बनाउन के गर्ने त ?
हामीलाई नेतृत्वमा पनि आरोही चाहिएको हो राजनीतिक पार्टीको मान्छे होईन् । अझ म त भन्छु यस पटकको नेतृत्व पनि आरोही साथिहरुलाई नै दिदा हुन्छ । यतिका कार्यकाल अरुले चलाय केही भएन त्यसकारण पनि यो कार्यकाल आरोहीहरुलाई दिनुपर्छ । नेपाली पर्वतिय पर्यटनलाई टिकाई राख्ने, विश्वभर चिनाउने हामी तर नेतृत्वमा हामी नै नरहने भए पछि कसरी हुन्छ ? अहिलेको यो नेतृत्वको लागि देखिएको विवाद समाधान भएन भने आरोहीहरु छुट्टीन्छन भन्ने कुरामा सबैले ढुक्क हुँदा हुन्छ ।

तपाईंको बिचार