Tuesday, February 19, 2019

एनएमएमा अब एक पद एक कार्यकालको व्यवस्था हुन्छ: सुर्दशन न्यौपाने

प्रकाशित मिति: 2018/08/30
सुर्दशन न्यौपाने, कोषाध्यक्ष -नेपाल पर्वतारोहण संघ (एनएमए)
सुर्दशन न्यौपाने, कोषाध्यक्ष -नेपाल पर्वतारोहण संघ (एनएमए)

सुर्दशन न्यौपाने नेपाल पर्वतारोहण संघ (एनएमए) का कोषाध्यक्ष हुनुहुन्छ । विगत लामो समय देखि पर्यटनमा सक्रिय न्यौपानेसँग एनएमएको कामको समिक्षा, भावी योजना र पछिल्लो समय देखिएको बिबादबारे गरिएको अन्तरंग संवाद:

नेपाल पर्वतारोहण संघ (एनएमए) मा तपाईहरु गएपछि अहिले सम्म के–के काम भए ?
हामीले एनएमएमा आउदा सबैभन्दा पहिलो त सरकारले उपभोग र प्रवद्र्धन गर्न दिएका पिकहरुको नविकरण भएको थिएन । त्यसलाई नविकरण गर्नुपर्ने महत्वपूर्ण कार्यभार थियो ।

अहिले मुलुक संघीय संरचनामा गएको अवस्थामा प्रदेश र स्थानीय सरकारले ति पिकहरु संचालन र उपभोगको अधिकार माग गरिरहेको बेला त्यो राज्यबाट लिनु निकै चुनौतीपूर्ण थियो । त्यो चुनौतीका बावजुत पनि हामीले नविरकण गर्ने वातावरण निर्माण गर्‍यौ ।

अर्को संघको काम कारबाहीलाई अझ सशक्त बनाउनका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियूक्ती गर्नुपर्ने आवश्यकता थियो । त्यसलाई पनि खुल्ला प्रतिस्पर्धाबाट कार्यसमितिको सहमति सहित नियूक्ती गर्‍यौ । त्यस्तै पोखराको म्यूजियमलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउने काम थाल्यौ ।

अर्को एमएमएको काम भनेको पर्वतारोहण प्रशिक्षणहरु संचालन गरि पर्वतारोहण पर्यटनका लागि आवश्यक दक्षजनशक्ति उत्पादन गर्नु पनि हो । कम खर्चमा विगतको भन्दा अत्यन्त राम्रो तरिकाबाट त्यो प्रशिक्षण पनि संचालन गर्न सफल भयौ भने अन्तर्राष्ट्रिय सघ, संस्थाहरुसँगको सम्बन्ध पनि निकै सुमधुर मात्र बनाएका छैनौ नयाँ उचाइमा पुर्याएका छौं । स्थानीय सरकारसँग पनि सहकार्य गरेर काम गरिरहेका छौ ।
यस्तै आन्तरिक रुपमा लेखा परिक्षण भएको थिएन । जसका विषयमा बारम्बार प्रश्न उठ्ने गथ्र्यो । लेखापरीक्षण गर्ने पद्धतीको विकास गरेका छौं । विदेशमा हुने सभा समारोहमा सहभागि हुन जाँदा हुलका हुल जाने परम्परा थियो । त्यसलाई हटाएर कुनै पनि ठुलो सभा, समारोहमा दुई जना र अन्यमा एक जना मात्र जान पाउने व्यवस्था गरेका छौं ।  यसबाहेक अरु कोही नयाँ कुरा सिक्न, बुझ्न सो कार्यक्रममा कोही जान चाहन्छ भने खर्च स्वयंम व्यक्ति आफैले बेर्होनु पर्ने विधिको विकास गरेका छौं ।

तपाईले अघि पनि भन्नुभयो, सिईओ नियूक्तीको विषयमा तर अहिले एउटा संस्थामा एउटा पदमा दुई जना नियूक्ती गरियो भन्ने चर्चा छ नी ?
यो निराधार हल्ला मात्र हो । संघको विशिष्ट काम र योजना निर्माणका लागि एउटा क्षमतावान व्यक्तिलाई सिईओमा नियूक्ती गर्ने निर्णय अनुसार हामीले खुला प्रतिस्पर्धाबाट छानेर नियूक्ती गरेका हौं । दुई वटा सिइओ छदै छैन ।

यसलाई अझ प्रष्ट पार्न म तपाईलाई नेपाल पर्यटन बोर्डको उदारण दिउ, हालका सिईओ दिपकराज जोशी बोर्डको स्थायी कर्मचारी हुनुहुन्थ्यो । उहाँले खुल्ला प्रतिस्पर्धाबाट सिईओ छनौटमा भाग लिनुभयो । र, हुदाँखादाको स्थायी जागिर छाडेर चार वर्षको लागि सिईओमा छानिएर आउनुभयो ।

तर हामी कहाँ यस्तो थप विशिष्ट क्षमता भएको स्थायी कर्मचारीहरु थिएनन । सोही कारण हामीले खुला प्रतिस्पर्धाबाट सिईओ नियूक्तीका लागि विज्ञापन आह्वान गर्‍यौं जसमा गंगासागर पन्तको मात्र आवेदन पर्‍यो । विधानमा त सिईओ नियूक्तीका लागि विज्ञापन नै गर्नु नपर्ने थियो । तर अहिलेकै जस्तो आरोप नलागोस भनेर हामीले विज्ञापन आह्वान गरेर उहाँको निवेदन उपर कार्यसमितिमा छलफल गरेर, महासचिव, पूर्वमहासचिव सम्मिलित समितिलाई उहाँलाई मार्क दिने अधिकार दियौ । जसमा उहाँहरुले हामीले सोचे भन्दा धेरै मार्क दिनु भयो । त्यसलाई फेरी हामीले कार्यसमितिमा छलफल गरेर ३ महिनाको परिक्षण काल सहित करारमा नियूक्त गरेका छौं । त्यसपश्चात हामीले ६ महिना भित्र हामीले खोजेको कुरा पूरा गर्न सक्नु भयो भने उहाँको निरन्तरता हुन्छ अन्यथा सम्झौता नविकरण हुदैन ।

तपाईहरुलाई त निर्वाचनका बेला पिक सरकारलाई बुझाउन राजी भएको भनेर प्रचार गरिएको थियो ? तर सरकारसँग पिक एनएमएले नै संचालन गर्ने सम्झौता गर्नुभयो । यो सम्झौता प्रचार मात्रका लागि त होइन नी ?  
यसलाई हामीले त्यही बेला गलत भनेका थियौं । तर, हाम्रा प्रतिस्पर्धी साथीहरुले यसलाई चुनाव प्रचारको गतिलो हतियार बनाउनु भयो । तर पनि सदस्य साथीहरुले हामीलाई मतदान गरेर उनीहरुको आरोपलाई गलत सावित गरिदिनुभयो ।

तर, म विगतमा जसले आफुलाई पिक संरक्षणको नाइके भनेर हामीलाई यस्तो आरोप लगाए पछिल्लो समय बरु उनीहरुले नै पिक फिर्ता ल्याउन असहयोग मात्र गरेनन्, सरकारी कर्मचारीहरुलाई उक्साउन समेत सक्रिय भए । जो हामीले पिक नविकरणका लागि धाउदा थाहा पायौं।

अर्को अनौठो त के छ भने जसलाई पिक खोस्ने मतियार भनेर प्रचार गरियो उनीहरुले पिक फिर्ता ल्याउन रातदिन नभनी सक्दो सहयोग गरे । जसको लागि म उनीहरुलाई धन्यवाद पनि दिन चाहन्छु । बल्ल हामीले बुझेका छौं । यो त केबल जुँगाको लडाई मात्र रहेछ ।

कम खर्चमा तालिम संचालन गरेर पैसा बचायौ भन्नुभयो । तर प्रशिक्षक, प्रशिक्षार्थी लगायतलाई गुणस्तरहिन खाना खुबाएको, अन्य सेवामा पनि कन्जुस्याई गरेको कुरा कतिको सुन्नु भएको छ ?
मैले सुनेको छैन । यसका लागि हामीले पहिले नै मेन्यू फाइनल गरेका हुन्छौं । के–के खाना खाने, सवारी साधन लगायतका अन्य विषयमा पहिले नै फिक्स गरेका हुन्छौं । र, सो व्यवस्थाका लागि टेन्डर आह्वान गछौं । सोही अनुसार यो पटक पनि आवेदन परेका मध्येको शिलबन्दी गर्यो । र, पर्यटन विभागको समेत प्रतिनिधिको रोहबरमा कार्यसमिति र लेखाका साथीहरु समेत सहभागि गराएर आवेदन परेको मध्ये जसले राज्यलाई तिर्नुपर्ने सेवा सुविधाहरु तिरेको सबै हिसाव किताव चुस्त दुरुत छ । सोहीबाट आवेदन मध्यबाटै हामीले आवेदन खोलेको आधा घण्टा भित्रमा यी कामको जिम्मेवारी दियौ । अर्को विगतमा बेसिक र एड्भान्स ट्रेनिङका लागि एउटैलाई जिम्मेवारी दिने चलन थियो । तर हामीले यो पटक छुट्टा छुट्टै व्यक्तिलाई दिएका छौं । त्यसकारण त्यस्तो भएको छैन । यो त केबल अफबाहहरु मात्र हुन ।

एनएमए नविकरण गर्ने काम कहाँ पुग्यो ?
यसमा पनि एउटा गजबको किस्सा छ हेर्नुस् । जब विसं २०७२ सालमा भूकम्प गयो । त्यो बेला एनएमएले विश्व खाद्य संगठनसँग मिलेर एउटा राहतको कार्यक्रम चलाएको रहेछ । जुन निकै सर्हानीय कार्य हो । तर, राहतको कार्यक्रमबाट २ करोड रुपैयाँ बचाएको रैछ । सो रकम पनि आफ्नो क्षेत्रमा लगेर खर्च गरिएछ  । र, एनएमएमा चाही आयको रुपमा देखाइए छ । लेखाले त्यसलाई आयको रुपमा देखाएपछि राजस्वले सो वापत ४८ लाख रुपैयाँ राजस्व तिर्नु पर्छ भन्यो । होइन भने संस्था नविकरण नहुने भयो । अब हामीले हिजोको कुरा मान्दैनौ भन्न पनि नमिल्ने । सोही कारण संस्थागत हितका लागि त्यही गलत गर्नेहरुकै पक्षमा बोल्यौं र नविकरण गर्ने स्थानमा पनि हामीले सहि प्रमाण पेश गरेपछि नविकरणको समस्या लगभग सकियो ।
अब राजस्वको विषय बाँकी छ । त्यसलाई पनि हामी संस्थालाई आर्थिक भार नपर्ने गरि समाधन गछौं ।

अर्को प्रसंग, तपाईहरु निर्वाचनका बेला बाम र गैरबाम बीच प्रतिस्पर्धा भएको थियो । यसरी भिन्दा भिन्दै धारबाट आएका तपाईहरुले गैरबामबाट आएकालाई बाइपास गर्न खोज्नु भो भन्ने अरोप छ नी ?
यो त एनएमएमा विशुद्ध राजनीति गर्न चाहने र त्यसैको आडमा चल्न चाहनेहरुले लगाएको आरोप मात्र हो । म यसको गतिलो उदाहरण म दिन्छु । हाम्रो महासचिव कुलबहादुर गुरुङ हुनुहुन्छ । फरक राजनीतिक धारबाट उम्मेदवार बनेर एनएमएमा निर्वाचित भएर आएका हुन । तर उहाँ र हाम्रो सिंगो कार्यसमिति बीच कुनै पनि कुरामा फरक धारको गन्ध मैले पाएको छैन । राजनीतिक रुपमा कुनै पनि आग्रह पूर्वाग्रह छैन । म कोषाध्यक्ष हुँ । मलाई पनि अध्यक्ष र महासचिवले पुरा पुर सहयोग गरिरहनु भएको छ ।

हामी कुनै पनि राजनीतिक आस्था र विचारमा आवद्ध छौ । तर एनएमए भित्र जादा राजनीतिक जुत्तालाई बाहिर खोलेर जान्छौ । विगतको जस्तो नेपाल पर्यटन बोर्ड विरुद्ध आन्दोलन हुदाँ संघको पैसा लगेर कार्यकर्तालाई खाना र खाजा खुवाउने कामको अन्त हामी गर्छाैं ।

तपाईहरु राजनीतिक प्रति कति प्रतिवद्ध हुनुहुन्छ भन्ने त ककनीमा तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको स्तम्भ बनाउने निर्णयले पनि देखाउछ नी होइन र ?
राज्य एउटा जटिल मोडमा रहेको बेला प्रकाश दाहालले लुम्बिनी–सगरमाथा शान्त्ति अभियान चलाएर सगरमाथा आरोहण गर्ने निर्णय गर्नुभयो । जसलाई निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पा र पूर्वअध्यक्ष जिम्वाजाङ शेर्पाको सहयोगमा प्रशिक्षण पनि दिइयो । र उहाले सगरमाथा आरोहण गरेर आउनुभयो ।  पछि उहाँको निधन भयो । एउटा राजनेताको पुत्र जसले शहरमा डुलेर, रमाएर बस्न सक्थ्यो तर त्यो बेला शान्त्ति र संविधानका लागि यो अभियान चलाएर यसले मुलुकको सो अभियानमा केही मद्दत अवश्य ग¥यो भन्ने महसुश गरेर यो निर्णय गरेका हौ । यसमा कुनै राजनीतिक रंग दल्न पर्ने आवश्यकता छैन । ककनीमा हाम्रो १ सय रोपनी भन्दा धेरै जग्गा छ । त्यहाँ तेन्जिङनोर्गे शेर्पाको मात्र सालिक राख्नुपर्छ भन्ने छैन । भोलीका दिनमा अरुको पनि स्मारक बनाउन सकिन्छ ।

पूर्वअध्यक्ष जिम्बाजाङबु शेर्पाको फोटो कार्यालयबाट हटाउनुका साथै निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पालाई बैठकमा निस्केर जा भनेर मानमर्दन गर्नु भयो भन्ने कुरा छ नि ?
मेरो व्यक्तिगत रुपमा उहाँहरु प्रति निकै ठुलो सम्मान छ । संस्थालाई यहाँ सम्म ल्याउनुमा उहाँहरुको पसिना छ । तर जहाँ सम्म पूर्वअध्यक्ष जिम्बाजाङबुको फोटो हटाइएको कुरा छ । उहाँले संघलाई विपक्ष बनाएर मुद्धा दायर गर्नुभएको छ । संस्थाको मानमर्दन गर्नेलाई साधारण सदस्य समेत नरहने गरि हटाउनुपर्छ भन्ने अधिकांशको धारणा थियो । तर होइन गल्ति स्विकार गर्ने र सच्चिने मौका दिनुपर्छ भन्ने कार्यसमितिको सहमतिमा फोटो मात्र हटाउने निर्णय गरेका हौ । यसमा कसैको विमति छैन । उहाँले ठुलो गल्ती गर्नुभएको छ । मुद्धा विचाराधिन छ । यदी गल्ती स्विकार गरेर सच्चिन तयार हुनुभयो भने फोटो फेरी यथास्थानमा राख्छौं ।

अर्को निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पाको कुरा छ । उहाँले सिईओ नियूक्तीको विषयलाई लिएर अनावश्यक बिबाद गर्नुभयो । या भनौ निवर्तमान अध्यक्षको हैसियतमा उहाँ बस्न चाहनु भएन । उहाँ सल्लाहकार दिने व्यक्ति हो । तर अनावश्यक बिवाद निकाल्न खोजेपछि तपाईलाई असजिलो हुन्छ भनेपनि यसको विकल्प छैन भनेर मैले भनेपछि उहाँले दुई तिहाइ देखाएर पेल्ने भनेर टेबुल ठोक्नुभयो । उश्रृङखल गतिविधिहरु देखाउन तिर लाग्नुभयो । भएको यति हो ।

अन्तमा अबको तपाईहरुको प्राथमिकताको काम के हो ?
हामी विधान संशोधनको तयारीमा छौं । त्यसका लागि विशेष साधारण सभा गर्ने योजना सहित लागेका छौं । हामी संस्थाको बैज्ञानिक खालको विधान ल्याउछौं । जसबाट एक पद एक कार्यकालको व्यवस्था गर्नेछौं । यो व्यवस्थाले एउटा व्यक्तिले एउटै पदमा पटक पटक दोहोर्‍याउने संस्कारको अन्त गर्छ ।
यसका अतिरित्त अन्य मापदण्डहरु पनि थप गर्ने गृहकार्यमा छौं । नेपाललाई पर्वतीय पर्यटनको प्रशिक्षण हवको रुपमा विकास गर्ने लक्ष्य छ । सो लक्ष्य पुरा गर्ने गरि काम गछौं भने अर्को प्रशिक्षणहरुलाई क्रमश सुधार गर्दै अझ गुणस्तरीय र प्रभावकारी बनाउदै जान्छौं ।

तपाईंको बिचार