Wednesday, August 23, 2017

विचार र शक्ति दुवै हिसावले जेटीसीसी थप गिरेको छ : चन्द्र रिजाल

प्रकाशित मिति: 2015/08/23
चन्द्र रिजाल- अध्यक्ष, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन
चन्द्र रिजाल- अध्यक्ष, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल पर्यटन क्षेत्रका निर्भिक, निडर र स्पस्ट वक्ताको रुपमा चिनिनुहुन्छ । पर्यटन क्षेत्रको एउटा खेमाको नेतृत्व उहाँ गर्नुुहुन्छ । केही समययता जेटीसीसीको औचित्य समाप्त भएको घोषणा गरेर उनीसहितको एक समूह अहिले बाहिर छ । पर्यटन क्षेत्रलाई गोलबन्द गर्न, पर्यटन क्षेत्रका विभिन्न तह र तप्काका व्यक्तिहरुसँग सहकार्य गरेर पर्यटनलाई व्यवसायीक शक्तिको रुपमा अगाडी बढाउने उद्घोषसहित अगाडी बढनुभएका रिजालसँग गन्तब्य नेपालन्यूजले गरेको छ प्रश्न :

जेटीसीसीमा नयाँ नेतृत्व आएको छ, अव त संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो होला नि !

संस्थाले लिएको लक्ष्य/उद्देश्य र कार्यशैली परिवर्तन नभई नेतृत्वमात्र परिवर्तन हुनुले खास महत्व राख्दैन् । अहिले नेतृत्वमा चन्द्र दाहाल आउनुभएको छ । जुन उद्देश्यका साथ संस्था स्थापना भएको थियो, त्यसलाई निरन्तरता दिन सकेन भनेर हामी बाहिरिईसकेपछि नयाँ नेतृत्व आउँदैमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने कुरा रहदैन । हामी जेटीसीसीको औचित्य सकियो भन्ने पूर्ववत् अडानमै अहिले पनि कायमै छौँ । ब्यक्तिसँग हाम्रो सम्बन्ध छैन्, संस्थाको नीतिसँग हाम्रो विमती हो । जुन उद्देश्यले संस्था स्थापित थियो त्यसमा विचलन आएपछि हामी बाहिरियौँ, नयाँ नेतृत्व आएकै कारण हामी त्यहाँ फर्कने कुरा छैन् ।

तर, जेटीसीसी थप शक्तिशाली भयो भनेर उहाँहरुले भनिरहनु भएको छ नि !

भन्नेहरुले के कारणले शक्तिशाली भयो भन्छन्, त्यो महत्वपूर्ण होईन । यो उहाँहरुको आत्मागत कुरा हो । हामीले पनि देखेका छौँ जेटीसीसी शक्तिशाली भएको छ कि थप गिरेको छ । हामीमात्र होईन । कागजमा के–कहाँ भन्ने कुरा रहँदैन तर, पाटा, नाट्टो, सोट्टो, एनएमए, भिटोफ, हान, एनटीभिए जस्ता शक्तिशाली संस्था बाहिरिई सकेका छन् । विचार र शक्ति दुवै हिसावले जेटीसीसी थप गिरेको छ, मलाईमात्र होईन धेरै व्यवसायीहरुलाई यहि लागेको छ । पर्यटन बजारमा गएर बुझ्नुस् प्रश्ट हुन्छ ।

तपाइँहरु व्यवसायीक बाध्यताले बाहिरिनु भएको हो, अब पुनः पुरानै घरमा फर्किनुहुन्छ भन्दै छ नि नेतृत्वले ?

चन्द्रजी राम्रो मान्छे हुनुहुन्छ । उहाँ नेतृत्वमा आउनु भएको छ । नेतृत्वले 

आफु कमजोर भएको कुरा कसरी भन्न मिल्छ ? आफुले नेतृत्व सम्हालीसकेपछि सबैलाई एकतावद्ध बनाएर लग्छु भन्ने कुरा उहाँको ठाउँबाट भन्नु जायज हो । तर, हामी थुकिसकेको थुक चाट्ने मनस्थितिमा छैनौँ । अब काम विवादीत भैसकेपछि नाम पनि विवादीत हुने नै भयो । तसर्थ नामलाई नै विवादीत बनाएपछि नयाँ नाममा जानुपर्छ ।

आ–आफ्नो ठाउँबाट गल्ती स्विकार गर्दै अगाडी बढनुपर्छ भनेर पनि भनिएको छ , तपाइँहरु पनि गल्ती स्विकार गरेर अगाडी बढन तयार हुनुहुन्छ ?

कुनै कालखण्डमा कसैले गल्ती गरेको थियो, तत्काल आत्मालोचना गरेर अगाडी बढौँ भन्ने परिस्थिति भएको बेला नगर्ने अनि अहिले आएर निर्दोष पक्षलाई गल्ती स्विकार गर भन्नु कहाँ सम्मको मूर्खता हो ? चर्किन लागेको बेला टाल्ने प्रयास गरेको भए, जोडिन सक्थ्यो, अझ बलियो पनि हुन सक्थ्यो । अब त फुटेर टुक्राटुक्रा भइसक्यो, यो टाल्न सक्ने अवस्था छैन् । मनै फाटिसक्यो कसरी मिल्छ ?

के अव पर्यटन क्षेत्र एक भएर अगाडी बढ्न नसक्ने अवस्था सृजना भएको हो ?

निश्चित ‘इस्यु’ का आधारमा सहमत भएर अगाडी बढन सकिन्छ । सबैले आफ्नै संस्था र आफुमात्र राम्रो भन्ने संस्कृति हावी भएको अवस्थामा एउटै केन्द्रको छानामुनी सबै पर्यटन व्यवसायीहरु एक हुने अवस्था म चाँहि देख्दिनँ । बरु, नमिलेको स्थितिमा मुख्य दलहरुले बाटो देखाउन सक्छन् । मुख्य राजनीतिक दलको पर्यटन विभागले पर्यटन क्षेत्रलाई एक बनाएर लग्ने कुरामा सकारात्मक भूमिका खेल्न सक्छन् । यसका लागि केही समय पहिले मुख्य राजनीतिक दलहरुविच पर्यटन क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सम्बन्धमा घोषणापत्र तयार भएको छ, सो घोषणापत्र मन्त्रालयमा पनि गएको अवस्था छ । यस्तै सकारात्मक पहलद्धारा साझा एजेन्डा तय गरेर राजनीतिक दलहरुले गाईड गर्न सक्छन् भन्ने लाग्छ ।

अन्तमा, टानको निर्वाचनको समय आई नै सकेको छ, यसका लागि कस्तो तयारीमा जुट्नु भएको छ ?

ममात्र व्यक्तिगत रुपमा अगाडी बढ्ने कुरा होईन । यसमा थुप्रै पर्यटन व्यवसायीहरु पनि हुनुहुन्छ । उहाँहरुको साथ–सहयोग र छलफलअनुरुप अगाडी बढने हो । टानमा आउन जेटीसीसीमा आउनुपर्छ भन्लान, यसमा तुक छैन् । टानको पनि आफ्नो विधान छ, जेटीसीसीको नाममा फुर्तिफार्ति गर्नुले केही फरक पर्नेवाला छैन् । जेटीसीसीको नामलाई ठूलो बनाएर हामीलाई बढाछौँ भन्नेहरु आफैँ बढारिदैछन् ।

तपाईंको बिचार