Tuesday, August 22, 2017

टान निर्वाचन सार्नु परम्परा, विधि र नैतिकता सबै हिसावले गलत हुन्छ : भण्डारी

प्रकाशित मिति: 2015/09/04
बोधराज भण्डारी, वरिष्ठ पर्यटन व्यवसायी
बोधराज भण्डारी, वरिष्ठ पर्यटन व्यवसायी

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को पूर्वअध्यक्षसमेत रहनुभएका बोधराज भण्डारी एकिकृत पर्यटन व्यवसायी संगठन (युटीन) तथा सोसाईटी अफ टुर एण्ड ट्राभल अपरेटर (सोट्टो–नेपाल) का सल्लाहकार हुनुहुन्छ । पर्यटनमा स्पस्ट बक्ताको रुपमा चिनिने भण्डारीसँग पर्यटनका समसामयीक विषयहरुमाथी आधारित रहेर गन्तव्य नेपाल न्यूज डट कमका लागि सुवास भट्टले गरेको अन्तर्वार्ता :   


मलेसिया तथा सिङ्गापुर भ्रमणमा जानु भएको थियो,  के गर्नुभयो ति मुलुकहरुमा गएर ?
नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा सोसाईटी अफ टुर एण्ड ट्राभल्स अपरेटर (सोट्टो–नेपाल) को आयोजनामा पहिलो ‘अन्तर्राष्ट्रिय सेल्स मिसन’ अन्तर्गत हामी सिङ्गापुर र मलेसियाको भ्रमणमा गएका थियौँ । यसक्रममा मलेसियाको क्वालालम्पुर, पुत्राजयलगायतका केही शहर र सिङ्गापुरमा  सेल्स मिसनसम्बन्धि विभिन्न कार्यक्रमहरु सम्पन्न गर्‍यौँ । ति कार्यक्रमहरुमा हामीले भूकम्पपछिको नेपालको पर्यटन र हालको स्थितिकोबारेमा स्पस्ट पार्‍यौँ । नेपालमा अहिले पर्यटकीय गतिविधिहरुका लागि कुनै अप्ठ्यारो छैन, भनेर त्यहाँका ट्राभल एजेन्टस्हरुलाई विश्वस्त पार्ने कोसिस गर्‍यौँ । खासगरी सिङ्गापुर र मलेसियाबाट आउने पर्यटकरुलाई हामीले प्रदान गर्ने सेवाको गुणस्तरमा विगतकोभन्दा बढी परिष्कृत गरिने प्रतिवद्धता जनाएर फर्केका छौँ । 


नेपालको पर्यटन प्रवद्र्धन गर्ने हिसावमा के -कस्ता कार्यक्रमहरु गर्नुभयो ?
हामीले दुईथरीका कार्यक्रमहरु आयोजना गर्‍यौँ । पहिलो कार्यक्रमअन्तर्गत नेपालको परिस्थितिकाबारेमा जानकारी श्रब्य÷दृष्य प्रस्तुत गर्‍यौँ र मन्तब्यका क्रममा यसलाई थप प्रश्ट्याउने काम गर्‍यौँ । र, दास्रो सोट्टो– नेपालका २५ वटा ट्राभल एजेन्ट्सहरु र उताका मलेसियाको मलेसिया ट्राभल एजेन्सि एसोसियसन (माट्टा) तथा सिङ्गापुरको नाटाभका ‘आउट बाउन्ड’ टुरिजम सेल गर्ने व्यवसायीहरुविच ‘विजनेस टू विजनेस’ (बि टू बि) सेसन सञ्चालन गरेर एकार्कामा भिजिटिङ कार्ड, ब्रोसर, प्याकेज साटासाट गर्नेदेखि छलफल र अन्तक्र्रिया कार्यक्रमहरु पनि आयोजना गर्‍यौँ । 


यस्ता कार्यक्रमहरु आयोजना गरिरहँदा नेपालप्रति उनिहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?

हामीले जहाँ–जहाँ कार्यक्रमहरु आयोजना गर्‍यौँ, भेटघाट र अन्तक्र्रिया गर्‍यौँ ;उहाँहरु नेपालको बारेमा निकै सकारात्मक देखिनुभएको छ । प्राकृतिक विपक्तिहरु संसारमा जहाँ पनि जान्छन र यो अस्थायी हुन्छ, यसले पर्यटकीय गतिविधिहरुमा कुनै असर पार्नुहँदैन भन्ने उनिहरुको बुझाई छ । हामीले बुझेअनुसार उनिहरु नेपालको पर्यटन प्रवद्र्धन गर्न एकदम आतुर छन्, यसका लागि उनिहरु स्वयं नेपाल आउन इच्छुक देखिएका हामीले पयौँ । 
यसरी छोटो समयमा निर्णय गरेर भ्रमणमा आउने एसियन मुलुकअन्तर्गत सिङ्गापुर र मलेसियामा कार्यक्रमहरु गर्‍यौँ । अरु पर्यटकीय संस्थाहरुले पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने हो भने नेपालको पर्यटन प्रवद्र्धन गर्न समय लाग्दैन् । 


विदेशी पर्यटकहरु यहाँ आउन चाहेको खण्डमा हामी कत्तिको सक्षम छौँ, पर्यटकहरुलाई सेवा÷सुविधा दिन, किनकी हाम्रा सम्पदा तथा कतिपय गन्तव्यहरु पुनर्निर्मित भईसकेको स्थिति छैन; के लाग्छ तपाइँलाई ?
हामी सिङ्गापुर र मलेसिया गयौँ, ति देशका मानिसहरु खासगरी ‘लक्जरी टुर’ गर्नका लागि नेपाल आउने गर्छन । राजधानी, चितवन, लुम्बिनी, पोखराजस्ता खासगरी शहरी क्षेत्र र सो नजिकका गन्तव्य घुम्ने तथा छोटो हाईकिङ गर्ने खालका पर्यटकहरुका लागि सेवा दिनका लागि कुनै बाधा छैन् । काठमाडौँका केही सम्पदाक्षेत्र र सम्पदाहरु क्षति भएका छन्, तर मानिसहरुमा तिनै क्षतिग्रस्त सम्पदा हेर्ने पनि त चाहना हुन्छ ! प्राकृतिक सुन्दरता त हामीसँग ज्यूँकात्यूँ नै छन् । छोटो समयमा निर्णय गरेर नेपाल आउने र लक्जरी टुर मन पराउनेहरुका लागि हामी सेवा दिन सक्छौँ । उसो त अहिलेसम्म आएका पर्यटकहरुले पनि त्यस्तो नकारात्मक टीप्पणी गरेको देखिएको छैन् । एसियन मुलुकहरुबाट आउने पर्यटकहरुलाई देखाउने कुराहरु हामीसँग जस्ताको तस्तै छन् । 


यहि हिसावले यसवर्ष हामीले कति पर्यटक भित्र्याउन सक्छौँ होला त !
हाम्रा बुकिङ, कन्भर्मेसनहरु हेर्दा विगतको तुलनामा निकै कम पर्यटक नेपाल आउँछन् । तर, एयरलाइन्स सस्तो हुने हो भने, ब्याक प्याकरहरु अथवा अन्तिम समय निर्णय गर्ने, यहीँ आएर प्याकेज किन्ने पर्यटकहरु (एफआईटी), उनिहरु आउने सम्भावनाचाँहि प्रचुर छ । 


यत्तिको कमजोर अवस्थामा पर्यटक आगमन बढाउन के-कस्ता प्याकेज आएको पाउनुभएको छ र के यी प्रयाप्त छन् ?

नेपालको पर्यटन सुरु देखि आजसम्म निजी क्षेत्रमा आधारित छ ।  कहीँ–कतै सहजीकरण गर्नेबाहेक छु/प्याकेज दिने काम सरकारबाट अहिलेसम्म भएको छैन् । निश्चित अवधिसम्मका लागि भिषासम्म निः शूल्क गरिदिएको भए पर्यटक आगमन बढथ्यो कि भन्ने आँकलन गर्न सकिन्छ, यद्यपी भिषाकै कारण पर्यटकहरु नेपाल नआएका होईनन् । सरकारले गर्नुपर्ने कुराहरु बग्रेल्ती छन्, सो नगरिएको त प्रश्टै छ । यसबाहेक भूकम्पको असरका अतिरिक्त राजनीतिक माहोल विग्रिएका कारण पनि पर्यटकहरु असुरक्षित महसुस गरेर आउन हिच्किचाईरहेका छन् ।  

अर्कोतिर निजी क्षेत्र छ, यो असंगठित देखिन्छ । व्यवसायीहरुले आशा गरेजस्तो संघसंस्थाहरुले उनिहरुलाई एकढिक्का बनाएर प्रवद्र्धनात्मक काम गर्नुपथ्र्यो, त्यो देखिन्न । हामीले सिङ्गापुर र मलेसिया गएर पर्यटन प्रवद्र्धनात्मक कामहरु गरेर आयौँ, नाट्टा अहिले माट्टामा सहभागी हुन गईरहेको छ, मलेसियामा । यसबाहेक अन्य संघसंस्थाहरुले अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन हुने हिसावले कार्यक्रम/गतिविधि नगरेका कारण पनि पर्यटन प्रवद्र्धन आशातित हुन सकेको छैन् । भलै, निजी व्यवासायीहरुले आफ्नो ढंगले प्रवद्र्धन गरिरहेकै छन् । यद्यपी, संगठित रुपमा गरेको जस्तो एक-दुई जनाले गरेर परिणाम देखिन्न । राज्य र निजी क्षेत्र मिलेर राष्ट्रिय पहल हुनुपथ्र्यो, सो भएको छैन् । 


पर्यटनमा निजी क्षेत्रको कुरा गर्दा निजी क्षेत्र किन यति असंगठीत छ ?
यो नेपालको विडम्बना हो । राजनीतिक रुपमा जति विभाजन छ, व्यवसायीक रुपमा पनि उक्ति नै छ । व्यवसायलाई केन्द्र बनाएर अघि बढेको भए सायद यस्तो हुन्थेन, व्यसायभित्रै राजनीति गर्ने कोसिस गरियो यसैले समस्या निम्त्याएको हो । राजनीतिक आस्था सबैमा हुन्छ, व्यसायलाई योसँग नजोडिकन बिसुद्ध व्यवसायीक प्रवद्र्धनमा जुट्नुपर्नेमा व्यवसायीहरु आफ्नो व्यवसायीक स्वार्थ कम र राजनीतिक स्वार्थ बढी बोकेर हिँडदा व्यवसाय विकृत बनेको छ । राजनीतिलाई नै सर्वेसर्वा ठानेर साथीहरु लाग्नुभयो, समस्या यहिँ छ ।     
यसमा हामी आफैँ पनि कहिँ न कहिँ दोषी छौँ । अझ सबै राजनीतिक दलहरुको विशेष भूमिका छ । राजनीतिक दलका पर्यटनसँग आवद्ध संगठनले  पर्यटकीय संघसंस्थामा दवाव र हस्तक्षेप सृजना गर्नाले विग्रिएको छ । राजनीतिक दलका पर्यटन क्षेत्रमा क्रियाशिल संघसंस्थाका नेतृत्वहरु यो परिणतीको धेरथोर जिम्मेवार छन् । 
किटेरै कुरा गर्ने हो भने, सबैभन्दा बढी राजनीति एनएमए र टानमा हुन्छ । तिनिहरुसँग बढी स्रोत÷साधनहरु भएकाले पनि राजनीतिक आँखाहरु त्यतातिर आकर्षित भएका छन् । 


यथासमयमै टानको निर्वाचन हुनेमा तपाइँ कत्तिको विश्वस्त हुनुहुन्छ ?
 आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने  कुरा टानको विधानमा उल्लेख छ । अर्कोतिर निर्वाचनको सवालमा, कुनै पनि निर्वाचित कार्यसमितिको पदावधि दुईवर्षको हुनेछ, भनिएको छ । अहिलेको कार्यसमितिले यो विधान पढेको र बुझेको छ भने सेप्टेम्बरमा वार्षिक साधारणसभा र नयाँ कार्यसमिति निर्वाचन गरिसक्नुपर्छ । आजसम्म किन गरेको छैन्, उसले जवाफ दिने कुरा हो । गर्नुपर्छ, नगर्दा नैतिक रुपमा उही कमजोर र बदनाम हुन्छ भन्ने कुरा उसैले बुझोस् । 
तर, सेप्टेम्बरभित्र चुनाव सम्पन्न गर्ने मनसाय हुन्थ्यो भने आजका दिनसम्म मिति घोषणा भैसकेको हुने थियो । बजारमा निर्वाचनलाई डिसम्बरसम्म धकेल्ने कुराहरु आएका छन्, यदि यो साँचो हो भने, दुर्भाग्यपूर्ण छ । सारतः टान निर्वाचन सार्नु परम्परा, विधि र नैतिकता  सबै हिसावले गलत छ । 


जेटीसीसीले अहिले दुई वटा कित्ता निर्माण गरेको छ, तपाइँ कतातिर हुनुहुन्छ ?
जेटीसीसीको गठन र यसमा संलग्न हुँदाताका देखि नै मेरो एउटा प्रश्न थियो – जेटीसीसी विसुद्ध व्यवसायीक संघसंस्थाहरुको विचमा रहुनुपर्छ, यदि कुनै राजनीतिक आस्थामा आधारित संघसंगठनहरु छन् भने असल मुद्दामा समर्थन लिन त सकिन्छ, तर उनिहरुलाई नै संस्थाको हर्ताकर्ताको रुपमा स्विकार्न सकिन्न । कुनै राजनीतिक दल विषेशका संगठनहरु जेटीसीसीका क्रियाकलापको  समर्थक÷विरोधी हुन सक्छन, तर यसको अभिन्न अंग हुन सक्दैनन्, त्यो नगराउनु भन्दाभन्दै यहाँभित्र कांग्रेस, एमाले, माओवादीहरु घुसे, समस्या यहिँबाट सुरु भयो । यहिँबाट जेटीसीसीमाथी पूरै हस्तक्षेप भयो । 
जहाँसम्म हामीले भाग खोज्यौँ भन्ने आरोप लगाईएको छ, यो मनोगत आरोपमात्र हो । सिङ्गो पर्यटन व्यवसायको नेतृत्व गर्छौँ भनेर जेटीसीसी गठन गर्नुभयो, यसको नेतृत्व गर्नुभयो, उहाँहरु पर्यटन बोर्डको कर्मचारीभन्दा तल जानुभयो । कर्मचारीभन्दा तलको जागिर खानका लागि आफैँलाई सिफारिस गरेर जानुभयो अनि भाग हामीले खोजेको हुन्छ ? हामीले यसको विरोध गरेको हो । यदि तपाइँले राष्ट्रिय नेतृत्व गर्ने हो भने तपाइँ राष्ट्रिय नेता बन्नुस, बोर्डमा जागिर खान जाने हो भने जेटीसीसीको नेतृत्व गर्ने हैसियत राख्नुहुन्न, किनभने तपाइँहरु सामान्य कर्मचारभन्दा तलको ठाउँमा जादैँहुनुहुन्छ– हामीले भनेका हौँ । 
ति व्यक्तिहरु जो जेटीसीसीको अगुवा भएर गएका थिए तिनको नीहित स्वार्थ थियो भन्ने कुरा प्रश्टै छ । आन्दोलन कसरी सुरु भएको थियो यसको थोरै पनि विश्लेषण गर्नुभयो भने थाहा हुन्छ, हामीले विगत चार वर्षदेखि पर्यटन बोर्डका अनियमितताका विरुद्ध हरतरहले ठूलो संघर्ष गर्दै आएका थियौँ । जसले जेटीसीसीको नेतृत्व गर्नुहुन्थ्यो उहाँहरु स्वयं भ्रष्टाचारको पक्षधर हुनुहुन्थ्यो । स्वार्थमा टकराव आएपछि उहाँहरु बोर्डका विरुद्ध आन्दोलनमा उत्रिनुभयो । जसले जसरी गरे पनि हाम्रो मुद्दा भएकाले हामीले त्यसमा समर्थन जनाएका थियौँ । 

तपाइँ एकिकृत पर्यटन व्यवसायी संगठन (युटीन)मा आवद्ध हुनुहुन्छ । एमाओवादीमा किन दुईवटा पर्यटकीय संस्था आवश्यकता पर्‍यो र कुनचाँही वैधानिक हो ?  
नेपाल पर्यटन व्यवसायी मञ्च गठन हुँदा नै एमाओवादीका सबै व्यवसायी साथीहरुलाई समेटेर स्थापना भएको थिएन । १२/१३ जनालाई जम्मा गरेर एजजिओका रुपमा सिडिओ कार्यालयमा दर्ता गरिएको संस्था हो, मञ्च । यसमा हाम्रो समर्थन वा विरोध केही पनि रहेन । साथीहरुले खोल्नुभयो, यसले कुनै सामाजिक, रचनात्मक काम गरेको भए हाम्रो समर्थन हुन सक्थ्यो । सिडिओ कार्यालयमा दर्ता भएको कुनै एजनिओ पार्टीको भातृसंगठन त हुन सक्दैन । 
पहिला पार्टीको पर्यटन समितिहरु हुन्थे, यसलाई विघटन गरिए । यसपछि पार्टीको आधिकारीक मोर्चा चाहियो भनेर हामी संघर्षरत् थियौँ । पार्टीले अनुमती दिएपछि हामीले युटीन नामको एउटा मोर्चा बनायौँ । यो पार्टीको संगठन हो, पार्टीले नै चलाउने हो । आधिकारीकताको सवालमा मञ्च आधिकारीक त हो, किनकी यो नेपाल सरकारको सिडिओ कार्यालयमा दर्ता छ । तसर्थ मञ्च नेपाल सरकारको आधिकारीक संस्था हो, नकी एमाओवादीको । अब युटीनको चाँहि नेपाल सरकारसँग यसको कुनै सम्बन्ध छैन्, यो एमाओवादीको भातृसंगठन हो । 
यहि कुराको बुझाई राम्रो नभएका कारण अप्ठ्यारो परेको हो । युटीनलाई राजनीतिक र मञ्चलाई व्यवसायीक कोणबाट हेर्नुपर्छ । 


यी दुईविचमा एकिकरणका कुरा पनि चलेका थिए, यो कत्तिको संभव र कहिले होला ?
एकिकरणका लागि धेरै प्रयास भए । तत्कालका लागि चाहिँ एकिकरण होईन मञ्च खारेज भए अथवा त्यसलाई साझा एजजिओ र यताको मोर्चालाई पनि साझा मोर्चा बनाउने भन्नेचाहिँ हुनसक्छ । तर, दुई वटालाई एकै ठाउँमा ल्याउने भन्न त पूर्व र पश्चिमलाई एकै ठाउँमा ल्याउने भन्नेजस्तो हो । यी दुईविच एकता भन्ने नै हुँदैन, बरु दुई वटैलाई पार्टीको कसरी बनाउने भन्नेचाँहि हुनसक्छ । 

तपाईंको बिचार