Tuesday, August 22, 2017

सर्बसम्मती भए महासचिवका लागि तयार छु : कुमार

प्रकाशित मिति: 2015/09/21
अञ्जन थापा ‘कुमार’, युवा पर्यटन व्यवसायी
अञ्जन थापा ‘कुमार’, युवा पर्यटन व्यवसायी

अञ्जन थापा ‘कुमार’ युवा पर्यटन व्यवसायी हुनुहुन्छ । विगत झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनुभएका कुमारसँग पर्यटन क्षेत्रको राम्रो पहुँच, ज्ञान र अनुभव छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) कै पूवकोषाध्यक्षसमेत रहिसक्नुभएका उहाँ आगामी कार्यसमितिअन्तर्गत महासचिव पदका लागि इच्छुक हुनुहुन्छ । आगामी टानको नेतृत्वमा स्वच्छ, इमान्दार र क्षमतावान व्यवसायी आवश्यक रहेको उहाँको ठम्याई छ । पर्यटन क्षेत्रमा राम्रो प्रभावसमेत कायम गर्नु सफल हुनुभएका र आगामी कार्यकालमा महासचिवका लागि चर्चित पात्र उनै कुमारसँग गन्तव्य नेपालन्यूजका लागि सुवास भट्टले गरेको संवाद प्रस्तुत छ :
 
टान निर्वाचनको सम्मूखमा देखिएका गतिविधि र परिवेशहरुलाई कसरी हेर्नुभएको छ ?
प्रत्येक दुई वर्षमा टानमा नयाँ कार्यसमितिको निर्वाचन हुने परम्परा हो । विगतकै अभ्यासअनुरुप छोटो समय ढिला गरी असोज १५ का लागी निर्वाचन मिति घोषणा गरिएको छ । अब टानमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । यो नियमित प्रकृया भएकाले आश्चर्य मान्नुपर्ने कुरा केही पनि छैन् । अबको नयाँ नेतृत्वमा क्षमतावान, अनुभवी मान्छे आउनुपर्छ भन्ने मलगायत हामी आम व्यवसायीहरुको जोड हो । 


तपाइँले इंकित गर्नुभएको आगामी नेतृत्वका लागि उचित पात्र को हुन सक्छ ?
पात्र यहि हुनुपर्छ भनेर किटेर भन्न त गाह्रो छ । आम व्यवसायीहरुले पनि हेरेका छन्, कोचाहिँ उक्तम पात्र हुनसक्छ भनेर । निर्वाचनमा जाँदा पनि त व्यवसायीहरुले आफ्नो मतमार्फत पात्र चुनिहाल्छन् ! 
यसका अतिरिक्त अहिले बजारमा आगामी नेतृत्वका लागि केही चर्चित पात्र छन् । यद्यपी, केही अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दीहरु त तपाइँहरुले पनि देखिहाल्नुभएको छ । मैदानमा देखिएकामध्ये कोचाहिँ उचित हुनसक्छ, आम व्यवसायीहरुको छनोटको कुरा हो । 


नामै लिनुपर्दा को हुनसक्ला उत्तम पात्र ?
धेरै साथीहरु आकाङ्क्षी हुनुहुन्छ, उहाँहरु सक्षम पनि हुनुहुन्छ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट चन्द्र रिजाल हुनुहुन्छ, राष्ट्रिय पर्यटन व्यवसायी मञ्चबाट गणेश शिंखडा, सागर पाण्डेलगायत अन्य संघसंस्थाबाट पनि आकाङ्क्षीहरु हुनुहुन्छ । आम व्यवसायीहरुको समर्थन कसमा हुनसक्छ, यसमा सबैले ढोका खुला राख्नुपर्छ । 


तपाइँले उल्लेख गनुृभएकालगायत मैदानमा आउनुभएका अधिकांश पात्रहरु राजनीतिक नै हुनुहुन्छ, यसपटक पनि विगतकै पुनरावृति देखिने भो हगि ?
त्यसो भनिनहालौँ । आजको समयमा कुनै पनि व्यक्ति निश्चित राजनीतिक आस्थामा रहि नै हाल्छ । मूलधारको राजनीति गर्ने पात्रहरुभन्दा व्यवसायीक पृष्ठभूमि भएको व्यक्तिमा सहमती जुट्न सके राम्रो हुन्छ, भन्ने मेरो धारणा हो । शेर्पा समूदायको यहाँ ठूलो जमात छ, पर्यटन क्षेत्रमा उनिहरुको लामो इतिहास र ठूलो योगदान पनि छ । यस्तो समूदाय पनि आएर सबैमा सहमती कायम गरेर अगाडी बढनुपर्छ भन्ने लाग्छ । स्वतन्त्र रुपमा आउन खोज्ने व्यवसायीहरुलाई पनि नजरन्दाज गरिनुहुन्न । सबैमध्येबाट राजनीतिकभन्दा व्यवसायीक अनुभव र पृष्ठभूमि भएकाहरुकोविचबाट सहमती कायम गर्नुपर्छ । 


टानको आगामी नेतृत्व कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
आजको दिनमा व्यवसाय यतिधेरै धरासायी भएको छ, जहाँ पनि किचलोको स्थिति छ । अझ भूकम्पपछि मुलुकको पर्यटन थप शिथिल भएको छ । यसका लागि नेतृत्वले यथोचित पहल थालेको देखिँदैन् । यी यावत् कारणले टानको चालू कार्यकालले व्यवसायीहरुलाई उत्साही बनाउन सकेको देखिदैन । राजनीतिक पूर्वाग्रहका कारण मैले यसो भनिरहेको छैन् । अहिले अधिकांश व्यवसायीहरुको धारणाचाहिँ अब आउने नेतृत्व राजनीतिकभन्दा पनि व्यवसायीकताप्रति बफादार हुनुपर्छ भन्नेमा छ । 
त्यस्तै टान निर्वाचनको अन्तिम घडीमामात्र व्यवसायीहरुको माहोल तातेको देखिन्छ । टानका सदस्यहरुले पनि टानलाई झक्झकाई रहने खालको सकारात्मक भूमिका खेल्नुपर्छ । पछिल्लो समय राजनीतिक लबिङ गर्दै हिँडने, आफ्नो जिल्लामामात्र बजेट लैजाने खालका अनेकौँ प्रवृतिहरु देखिएका छन् । यसको विपरित सम्पूर्ण व्यवसायी र संस्थाकै पक्षमा लबिङ गर्न सक्ने, पर्वतिय पर्यटनमा देखिएका समस्या र व्यवसायीहरुको समस्या समाधान गर्नसक्ने तथा पर्यटनमै लामो समय काम गरको सक्षम व्यक्ति टानमा आउनुपर्छ । 


आगामी निर्वाचनलाई केन्द्रित गरेर गणितीय खेलहरु पनि सुरु भैसकेको छ, पुनः आगामी नेतृत्व पनि राजनीतिक भागबन्डाबाटै आउँछ भन्नु गलत नहोला हगि ?
हालको राष्ट्रिय राजनीतिक परिवेश, भूकम्पपछिको पर्यटनको हालतलगायतका परिस्थितिहरुलाई हेर्दा टानका सहमतीय नेतृत्वको आवश्यकता महसुस भएको छ । तथापी, नेतृत्वका लागि केही साथीहरुको महत्वकांक्षा देखिन्छ । यो महत्वकांक्षाले चुनावलाई सूचित गरेको छ । तर, बिगतको इतिहास के देखाएको छ भने, हार्नेहरु सधैँ प्रतिपक्षमा बसिरहने, जित्नेहरुले राम्रो काम गर्न नपाउने । त्यस्तै, कुनै राजनीतिक दलको मन्त्री आउँदा काम गर्नसक्ने वातावरण नदेखिएकालगायतका समस्याहरु देखिएकाले सहमतीमा अगाडी बढदा राम्रो हुन्छ । तसर्थ साथीहरुले अनावश्यक महत्वकांक्षा त्यागेर जसको पक्षमा सहमती जुट्छ, उसैमार्फत अगाडी बढनुपर्छ, यसका लागि उहाँहरुले सदासयीता देखाउनुपर्छ ।  


तपाइँ स्वयं पनि महासचिवका लागि इच्छुक हुनुहुन्छ नी !
म आफैँभन्दा पनि ‘कथाले मागेको’ खण्डमा वा मेरो पक्षमा सहमती जुटेको खण्डमा म तयार छु । यद्यपी, किचलो गरेर अगाडी बढने पक्षमा म छैन् । सर्बसम्मती जुटे म महासचिवका लागि तयार छु । म बाहेक अरु साथीको पक्षमा सहमती हुन्छ भने पनि ठिकै छ । 


आफ्नो पक्षमा कत्तिको ‘लबिङ’ गर्दै हुनुहुन्छ ?
ठ्याक्कै लबिङ गरिहाल्नुपर्ने अवस्था छैन् । तथापी, चुनावी माहोलमा गईसकेपछि केही भेटघाट हुने कुरा स्वभाविक नै हो । 


राजनीतिक आस्थाबेगरका इच्छुकहरु पनि देखिनुभएको छ, उनिहरुलाई समेट्ने मामिलामा तपाइँको धारणा के छ, कसरी टानलाई व्यवसायीक र समावेशी बनाउन सकिन्छ ?
मैले अघि पनि भनेँ पर्यटन क्षेत्रको महत्वपूर्ण हिस्सा सिङ्गो शेर्पा समूदाय तथा अर्को स्वतन्त्र व्यवसायीहरुको समूह, यो राजनीतिक किचलोभन्दा बाहिर हुनुहुन्छ । उहाँहरु पनि आगामी नेतृत्वका लागि इच्छुक हुनुहुन्छ । उहाँहरु सबैलाई समेटेर अगाडी बढ्न सकेको खण्डमा सुनमा सुगन्ध थपिने थियो । यसरी नै अगाडी बढाउन म सबै सम्बन्धित पक्षलाई आग्रह गर्छु । 


राजनीतिक शक्ति नभएको अवस्थामा उनिहरु अगाडी आउनसक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
यसका लागि सबैले मन फराकिलो पार्नुपर्छ । योभन्दा दुई कार्यकालकै कुरा गर्दा तिनवटा संगठन चुनाव लड्ने कुरा भएको थियो । तर, पछि शेर्पा समूदाय यसबाट रुष्ट भएपछि वरिष्ठ उपाध्यक्षको पद थपेर शेर्पाहरुको प्रतिनिधित्व गराईएको थियो । यसकारण अहिले पनि पद नै छुट्याउनुपर्छ भन्ने त होईन, तर त्यस्तो कुनै ‘स्पेस’ राखेर व्यवसायीक छवि भएका शेर्पा तथा स्वतन्त्र समूदायलाई सम्बोधन गरेर अगाडी बढ्ने सम्भावनाचाहिँ छ । 


अन्तमा केही सन्देश छाड्न चाहनुहुन्छ ?
अहिले सिङ्गो मुलुक नै सहमती र सहकार्यबाट अगाडी बढी संविधान जारी  भएको खण्डमा पर्यटन व्यवसायले पनि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । खर्चिलो किसिमबाट, भड्किलो प्रचारप्रसार गरेर, एकार्कामा दुस्मनी साँधेर होईन सहमती कायम गरेर अगाडी बढौँ भन्ने मेरो सन्देश हो । 

 

तपाईंको बिचार