Friday, October 20, 2017

दशगजामा निर्माण गरेको पक्की सडक भत्काउन भारतको निर्देशन

प्रकाशित मिति: 2017/02/02

माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्।  

भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला तुरुन्त भत्काउन आदेश दिए।

सो कार्यशालामा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले निर्माण गरेको पक्की सडक र नाला तुरुन्त दशगजा क्षेत्रबाट भत्काउन निर्देशन दिए।

साथै उनीहरुले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताए।  

महोत्तरीका प्रजिअ, वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले भारत विहारको मधुवनी जिल्लाको जयनगरमा भारतीय पक्षसँग विशेष बैठक बसी सोही बैठकद्वारा भारतीय पक्षले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको प्रजिअ, वीरेन्द्र यादवले बताए। 

गत बिहीबार भारतीय पक्षले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रमा भारतको मधवापुर सहरतिरबाट ७ दशमलव ३१ मिटर दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेकामा महोत्तरीका प्रजिअसहित सुरक्षा निकायले स्थलगत निरीक्षण गरी भारतीय पक्षसँग कुराकानी गर्दै आएको थियो । 

सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले यसबारे गम्भीर हुँदै सो पक्की सडक र नाला भत्काउन निर्देशन दिन लगाए। –रासस 

तपाईंको बिचार