Friday, October 20, 2017

आज स्थानीय तह पुनरावलोकन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउने

प्रकाशित मिति: 2017/03/05

फागुन २२, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ । 

आयोगको प्रतिवेदनप्रति मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्नका लागि सरकारले बनाएको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउन लागेको हो । आयोगले सिफारिस गरेको भन्दा १९ वटा स्थानीय तह बढाउने प्रस्तावसहित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको थियो । पाण्डे संयोजकत्वको कार्यदलले स्थानीय तहको संख्या ७ सय ३८ पुर्‍याएको छ । कार्यदलले प्रस्ताव गरेको परिमार्जित प्रतिवेदनमा मधेसका ८ जिल्लामा १७ वटा स्थानीय तह थपिएका छन् । त्यस्तै पहाडका दुई जिल्लामा २ वटा स्थानीय तहको संख्या थपिएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा परिमार्जित स्थानीय तहको विषयमा छलफल हुने बताइएको छ ।

तपाईंको बिचार