Saturday, December 16, 2017

काठमाडौं महानगर र मानव सेवा आश्रमले सडकमा सुत्ने मानिसको व्यवस्थापन गर्ने

प्रकाशित मिति: 2017/11/17

काठमाडौं । सडकपेटीमा कष्टकर र दुखदायी जीवन विताउने  मानिसहरुलार्इ उद्धार गर्न महानगरपालिका र मानव सेवा आश्रमबीच दुर्इ बर्षका लागि सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमवीच सम्झौता भएको हो।
 
सम्झौता अनुसार मानव सेवा आश्रमले भाडामा लिएको दुर्इवटा घरको भाडा महानगरपालिकाले तिरिदिने र आश्रमले सडकपेटीका मानिसहरुको पालनपोषण  र औषधी उपचार गर्ने रहेको छ। महानगरपालिकाले मासिक रुपमा १ लाख ६७ हजार रुपैयाँ घर भाडा तिरिदिने सहमति भएको छ।
 
महानगरपालिकाले नगरप्रहरीको सहयोगमा सडकपेटीका मानिसहरुलार्इ आश्रममा बुझाउने छ। भने हप्ताको एकपटक ८ देखि १० बजेसम्म महानगर प्रहरी र आश्रमका अभियन्ता सहित रात्री सेवामा सडकपेटीमा जाने सहमती समेत भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका आफैँले मानवसेवाका कामहरु गर्नुपर्ने भन्दै यो पहिलो प्रयास भएको बताए। उनले महानगरका सडकपेटीमा बस्ने गरेका अपाङ, अनाथ, वेवारिसे, अशक्त, मानसिकरोगी  लगायतका ब्यक्तिहरुको उद्धार गर्ने बताए।
 
परिवार भएर पनि सडकपेटीमा जीवन बिताइरहेकाहरुलार्इ परिवारसंग पुनर्मिलन गराउनका लागि समेत पहल गरिने काठमाडौ महानगरपालिकाले जनाएको छ। 

तपाईंको बिचार