Monday, June 17, 2019

राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

प्रकाशित मिति: 2018/03/13

काठमाडौं । राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् ।

भण्डारीलाई सत्तारुढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

काठमाडौंको बानेश्वरस्थित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ६९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।

मतभार फरक–फरक भएकाले निर्वाचन आयोगले मतपत्रसमेत दुई थरिका व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यहरुले सेतो कागजमा हरियो रंगले छापिएको र प्रदेशसभाका सदस्यले सेतो कागजमा रातो रंगले छापिएको मतपत्र पाउने छन् । मतपत्रमा दुई उम्मेदवारको नाम उल्लेख रहने र मतदाताले नामको अगाडि स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्ने आयोजले जनाएको छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभामा ५ सय ५० जना मतदाता हुने व्यवथा छ । आयोगले संघीय संसद्मा ३ सय ३१ र प्रदेशसभामा ५ सय ५९ जनाको अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा नामावली प्रकाशनपछि मात्रै शपथग्रहण गर्न पाएका राष्ट्रियसभामा सरकारलको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन सदस्यले मतदान गर्न पाउने छैनन् ।

प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङको नाम पनि अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका गुरुङ फरार छन् । कानुनअनुसार कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार विजयी हुने छन् । संघीय संसद्का ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो । तर आयोगले मतदाता नामावली ८ सय ८० जनाको नाम मात्र प्रकाशित गरेकाले उनीहरुको कुल मतभार ५२ हजार ५ सय १ हुन्छ ।

त्यसअनुसार राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले २६ हजार २ सय ५१ मत ल्याउनुपर्छ । एमाले र माओवादीसहितको वाम गठबन्धनकै मतदाताबाट उक्त मत पुग्ने देखिन्छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत समर्थन वाम गठबन्धनलाई रहेकाले भण्डारीले सहजै चुनाव जित्ने सम्भावना छ ।

तपाईंको बिचार