Friday, October 18, 2019

असार पहिलो साता प्रधानमन्त्री चीन जाने

प्रकाशित मिति: 2018/06/01

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण असारको पहिलो साता गराउने  गरी तयारीलाई तीब्र पारेको छ ।  

भ्रमणको मितिलाई अन्तिम टुंगोमा पुर्‍याउने गरी नेपाल र चीनका अधिकारीहरु छलफल गरिरहेका छन्। जुन १९ देखि २४ (असार ५ देखि १०) भ्रमण सम्पन्न गर्ने गरी तयारी भइरहेको छ। यद्यपि यसलाई अन्तिम रुप दिन भने बाँकी छ ।  
यसैबीच भ्रमणको तयारीका लागि काठमाडौँ आएका चीनका लागि नेपालका राजदुत लीलामणि पौडेल नेपालको तयारीको बारेमा जानकारी दिन बेइजिङ फर्किएका छन्।

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई ध्यानमा राखेर सरकारले भ्रमणका एजेण्डाहरु तयार गर्न जुटेको छ। परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला मन्त्रालयहरु भ्रमणका एजेण्डाका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीको भ्रमणका बेला मुख्यगरी अन्तरदेशीय रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन लगायतका विषयमा छलफल हुने बताइएको छ।

यसैबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा सन् २०१६ मा चीनसँग भएको व्यापार तथा पारवाहन सन्धिको प्रोटोकलको विषयमा छलफल हुने भएको छ। सन्धि भएको तीन वर्ष हुन लाग्दा प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन्। प्रोटोकललाई टुंगोमा पुर्‍याउने विषयमा समेत छलफल हुनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसबीचमा दुबै देशका अधिकारीहरु प्रोटोकललाई टुंगोमा पुर्‍याउनका लागि पटक पटक छलफल भएका छन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लक्षित गर्दै अन्तर मन्त्रालय छलफल गरेको छ। परराष्ट्रलाई विषयगत मन्त्रालयहरुले चीन प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिन सकिने सहयोगका विषयमा प्रतिवेदन पेश गरेका छन्।
 
यसपटक प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कनेक्टिभिटिको एजेण्डा प्रमुख रुपमा उठ्ने छ । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को सदस्य भएको अवस्थामा बीआरआई अन्तर्गत रहेर नेपालले लिन सक्ने सहयोगका विषयमा समेत उठ्ने छन्।
 
नेपालले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणलाई बीआरआईको फ्रेमवर्कमा राखेर सहयोग गर्न चीनसँग प्रस्ताव गरेको छ। सोही अनुरुप चिनियाँ प्राविधिक टोलीले यसको सम्भाव्यता अध्ययन गरिरहेको छ।

भौतिक योजना तथा यातायात मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लक्षित गर्दै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रस्ताव लैजाने गरी प्रक्रिया अगाडि बढाएको छ। भ्रमणका क्रममा रेलमार्गको डीपीआरको विषयमा ठोस सहमति गर्नुपर्ने यातायात मन्त्रालयले सुझाब दिएको छ।

तपाईंको बिचार