Wednesday, August 21, 2019

सुन प्रकरण मेरो क्षेत्राधिकार बाहिरको हो : सर्वेन्द्र खनाल

प्रकाशित मिति: 2018/06/28

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरीको विषयलाई आफ्नो क्षेत्राधिकार बाहिरको बताएका छन् । 

‘अनुसन्धानको विषयमा चासो नभएको होइन,’ आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै खनालले भने, ‘तर त्यसको मतलब पनि छैन। यो सरकारले गठन गरेको कमिटी हो । यसलाई अनुसन्धान गर या नगर भन्ने अधिकार मसित छैन।’ 

सनम शाक्य हत्यासँग सुरु भएको ३३ किलो सुन प्रकरणको अनुसन्धानले प्रहरीकै मिलेमतोमा विमानस्थलबाट सुन नेपाल भित्रने गरेको तथ्य बाहिर आएको थियो । प्रहरीको सेटिङमा सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै उच्च पदस्थ प्रहरी अधिकृतहरु पक्राउ परेका छन्। सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकतत्वमा विशेष अनुसन्धान टोली गठन गरेपछि प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न खडा भएको थियो ।

‘राम्रो काम गर्ने अफिसरको पक्षमा स्ट्यान्ड लिने म नै हो,’ उनले भने, ‘तर सबै राम्रो काम गर्ने अफिसरले सधैं राम्रो काम गर्छ भन्न सकिन्न । तर जिम्मेवारीबाट चाहिँ म हटेको होइन।’ उनले आफूले नेतृत्व सम्हाल्नुअघि नै सरकारले समिति गठन गरिसकेको बताउँदै समितिमा विज्ञहरु रहेको बताए। त्यो समूहलाई आफूले निर्देशन दिन नमिल्ने उनले प्रस्ट पारे।

तपाईंको बिचार