Tuesday, November 19, 2019

समाजसेवी अधिकारीको चेतावनी :उप्रान्तः जनप्रतिनिधीले समाजसेवामा भाँजो नहालुन

प्रकाशित मिति: 2019/06/23

असार ८, नुवाकोट । संयुक्त दलित अधिकार मञ्चले तारकेश्वर–२, तारुकामा जनसभा सम्पन्न गरेको छ । मञ्चको नुवाकोट जिल्ला कार्यसमितिको आयोजनामा भएको सांस्कृतिक कार्यक्रमसहितको जनसभामा जिल्लाभरका दलित समुदायका साथै विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधि सहभागी भए ।

संयुक्त दलित अधिकार मञ्चका केन्द्रीय अध्यक्ष लक्ष्मण बर्देवाको प्रमुख आतिथ्यमा भएको सभामा सहभागी हुन विभिन्न जिल्लाबाट मञ्चका प्रतिनिधिहरु आएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्देवाले दलित हकहितको संरक्षण र जनचेतना अभिवृद्धिका लागि आफूहरु निरन्तर क्रियाशील रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा तारकेश्वरका समाजसेवी शिव अधिकारी ‘अविरल’ले समाजमा सबै जाति, वर्ग, लिंगका मानिसबीच समभावको विकास भइरहेको अवस्थामा ‘दलित’ शब्दले आफैँ कताकता दबिएको जस्तो महसुस गराउने भएकाले सीप र शिल्पकलाको धनी यो समुदायलाई अब ‘शिल्पी समुदाय’का रुपमा सम्बोधन गर्नुपर्ने धारणा राखे । अधिकारीले मञ्चको कार्यालयका साथै दलित समुदायका लागि सीपमूलक तालिम सञ्चालनार्थ भवन निर्माण कोषका लागि ५० हजार रुपैयाँ र दुर्घटनामा घाइते भई गम्भीर अवस्थामा उपचार गराइरहेका स्थानीय विपन्न परिवारका रमेश नेपालीको उपचारका लागि १० हजार रुपैयाँ सहयोगको घोषणा गरे । 
पछिल्लो समय समाजसेवालाई समेत राजनीतिकरण गरी गाउँपालिका अध्यक्षले सिफारिससमेत रोक्ने काम गरेको भन्दै अधिकारीले रोष प्रकट गरे । जनताको मतले निर्वाचित पदाधिकारीले कसैले सेवा गर्छु भन्दा पनि राजनीतिक दबाबमा भाँजो हाल्ने कार्य नरोके जनस्तरबाटै भन्डाफोर सुरु हुने चेतावनीसमेत उनले दिए । संयुक्त दलित अधिकार मञ्च नेपाल नुवाकोटका अध्यक्ष रामशरण मजकोटीले दलितहरुको हक अधिकार सुनिश्चताताका लागि आफुहरु सशक्त रुपमा लागिपरेको बताए ।
उनले दलित माथिको हेपाहा प्रबित्ति अझै नहटेको र राज्यले समेत व्यवास्ता गरेको भन्दै यस्तै रबैया रहिरहे दलित अधिकारका लागि जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।   
 

 

तपाईंको बिचार