Thursday, July 18, 2019

बिप्लपको बन्द :उपत्यकासहित देशभर जनजिबन प्रभावित

प्रकाशित मिति: 2019/06/25

१० असार, काठमाडौं । सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।
बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखाना लगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।

बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् ।

कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको पुष्टि भएको छ ।

विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
 

तपाईंको बिचार