Thursday, November 21, 2019

किन बन्दैन नेपालमा सियो ! कमजोर अर्थव्यवस्थाको मजबुत उदाहरण

प्रकाशित मिति: 2019/07/03

१८ असार, काठमाडौं । नेपालको कमजोर अर्थव्यवस्थाबारे आत्मबिश्वास सहित गफ दिन पर्यो भने भने हुन्छ,– ‘सियोसमेत विदेशबाट आयात गर्नुपर्छ ।’ सत्य यही हो ।

हो, वर्षौंदेखिको यो भनाइ अहिले पनि उत्तिकै सत्य छ । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको वर्तमान सरकारले पनि सियो जस्तो ‘मामुली’ चिजलाई ध्यान दिएको छैन ।
केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा उनले ०७४ पुष २ गते नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिसँगको छलफलमा भनेका थिए, ‘सियो(धागोदेखि तरकारी फलफूलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिने छ ।’ ओली अहिले दुईतिहाई बहुमतप्राप्त सरकारका शक्तिशाली प्रधानमन्त्री भएको डेढ वर्ष भयो तर देश सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन ।

नेपालमा आजसम्म सियो उत्पादन गर्ने उद्योग स्थापना भएको कुनै रेकर्ड उद्योग विभाग तथा मन्त्रालयसँग छैन । चालू आर्थिक वर्षको एघार महिनामा नेपालले २२ हजार ५ सय ७८ केजी सियो विश्वका विभिन्न सात देशबाट आयात गरेको छ । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

चालू आर्थिक वर्षमा ७७ लाख रुपैयाँको सियो नेपालले आयात गरेको छ । भारत चीन, दक्षिण कोरिया, फ्रान्स, इटाली, थाइल्याण्ड र स्वीट्जरल्याण्डबाट समेत नेपालमा सियो आयात हुन्छ । नेपालमा सबैभन्दा धेरै सियो निर्यात गर्ने मुलुक भारत हो । यो आर्थिक वर्षको एघार महिनामा सबैभन्दा बढी भारतबाट र सबैभन्दा कम स्वीट्जरल्याण्डबाट नेपालमा सियो भित्रिएको छ ।

यसबाहेक चीनबाट १४ लाख ७७ हजार, दक्षिण कोरियाबाट ११ लाख ३७ हजार, फ्रान्सबाट ७ लाख ९९ हजार, इटालीबाट १ लाख ५८ हजार, थाईल्याण्डबाट ३० हजार र स्वीट्जरल्याण्बाट ५ हजार रुपैयाँ बराबरको सियो नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सियो आयात १० लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्ष नेपालले १७ हजार ७२१ केजी सियो आयात गरेको थियो । कुल ६७ लाख ६९ हजार रुपैयाँ सियो आयातका लागि बाहिरिएको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष पनि सबैभन्दा धेरै सियो भारतबाट नै भित्रिएको थियो भने अमेरिका र जर्मनीबाट समेत सियो आयात भएको थियो ।
सियो उत्पादनमा किन लाग्दैनन व्यावसायी
नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका अध्यक्ष अञ्जान श्रेष्ठ सियो उत्पादन गर्ने मेसिनमा पर्ने लगानी अनुसार बजार नभएका कारण व्यवसायीले यस उद्योगमा हात नहालेको बताउँछन् ।

गार्मेन्ट सिलाइ व्यवसायमा लामो समय काम गरेका व्यावसायी यज्ञराज न्यौपानेले दश वर्षअघि नेपालमा जर्मन प्रविधिको सियोको एजेन्सी लिन खोजेका थिए । जर्मन प्रविधिद्वारा भारतमा निर्माण हुने सियो कम्पनीका एकजना ईन्जिनियर त्यसबेला नेपाल आएका थिए । नेपालको बजार बुझ्न एक वर्ष नेपाल बसेका उनले नेपालमा सियोको बजार निकै साँघुरो रहेको बताएको न्यौपाने सम्झन्छन् ।
ती ईन्जिनियरले बताएअनुसार एउटा कारखानामा सिलाइका लागि बनाइने एउटा सियो तयार हुन १३४ वटा प्रक्रिया पुरा गर्नुपर्छ । गुणस्तरयुक्त कार्बन रडबाट सियो तयार गरिन्छ । कम्प्युटराइज्ड प्रविधिको महंगो मेशिनबाट उत्पादन गरिने त्यस्ता सियोको मूल्य न्यूनतम १५० रुपैयाँ पर्छ ।
नेपालको औद्योगिक बजार सानो भएको र अन्य प्रकारका सियोमा फाइदा कम हुने भएपछि नेपालमा सियो उत्पादन गर्ने कारखाना खुल्नै नसक्ने ती इन्जिनियरले बताएको न्यौपाने सम्झन्छन् । पछिल्ला दिनमा सियो उत्पादनमा आक्रामक भएको चीनले जर्मन कम्पनीको १५० पर्ने उस्तै गुणस्तरको सियो २० रुपैयाँमै बजारमा पठाउने उनले बताए । करोडौ खर्चेर नेपालमा उत्पादन गर्ने सियो भन्दा आयातित सियो सस्तो पर्ने बुझेका कारण यो व्यवसायको रुपमा सुरु हुन नसकेको उनले बताए ।  

तपाईंको बिचार