Sunday, October 20, 2019

मन्त्री अर्यालद्वारा बालगृहलाई सहयोग

प्रकाशित मिति: 2019/08/04

साउन १९, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले स्याङ्जाको फेदिखोलामा रहेको अमोर सेवा नेपाल बालगृहलाई नगदसहित भौतिक समानको सहयोग गर्नुभएको छ ।

अमोर बालगृहमै पुगि मन्त्री अर्यालले आफ्ना बुबा आमाको नाममा स्थापित गुप्ततारा प्रतिष्ठानबाट अनाथ बालबालिकालाई सहयोग गर्नुभएको हो । बालगृहमा रहेका २३ जना बालबालिकाको लागि मन्त्री अर्यालले नगद रू ५० हजारसहित १ थान कम्युटर २३ कम्बललगायतका भौतिक सामग्री सहयोग गर्नुभएको छ । सहयोगका लागि पुग्नुभएकी मन्त्री अर्यालले बालगृहका बालबालिकालाई अनाथ बालबालिकाको अभिभावक बन्ने गरि निस्कन आग्रह गर्नुभयो ।

बेबारिसे बालबालिकाको साहारा बन्ने काम पनि एउटा अवसर हो । आज तपाईंहरू बालगृहमा हुनुहुन्छ । भोलि यहाँबाट निस्कदा तपाईंहरू जस्तो बालबालिकाको अभिभावक बन्ने गरि निस्कनु होला । मानव सेवाभन्दा ठूलो धर्म केही हुँदैन । अनुशासन, शिक्षा र संस्कार सिक्नुहोला, जीवन राम्रो हुन्छ मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले बालगृहमा रहेका बालबालिकाको लागि आगामी दिनमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो । २०६८ सालमा स्थापना भएको बालगृहमा २३ जना बालबालिका छन् ।

 

 

तपाईंको बिचार