Saturday, September 21, 2019

हिमाली जिल्ला मनाङमा लोभ्याउँदो लटरम्म स्याउ

प्रकाशित मिति: 2019/08/18

भदौ १, मनाङ । मनाङमा एक सय हेक्टर जमिनमा व्यवसायिक रुपमा स्याउ खेति हुनेगरेको छ । औषत एक हजार टन स्याउ उत्पादन हुने गरेको तथ्यांक छ । सडक सञ्जालको विस्तारसँगै मनाङका स्याउले बजार समेत पाउन थालेको छ । तर, व्यवस्थित खेतिका लागि स्थानीय सरकारले योजना बनाउनु पर्ने किसानहरुको तर्क छ ।

यो दृश्य चिसो हावापानीमा फलेको मनाङ्गी स्याउ बगानको हो । स्थानीयले यसलाई मनाङको मौसमी उपहारको रुपमा लिने गरेका छन् । हिजो–आज स्याउ फल्ने मौसम हो । जिल्लाका केही किसानले वर्णशंकर स्याउ पनि भित्र्याएका छन् ।

छोटो समयमै फल दिने र आम्दानी धेरै हुने भएपछि किसानले वर्णशंकर जातको स्याउलाई बारीमा सजाएका छन् । अधिकांश किसानले रैथाने स्याउलाई प्राथमिकता दिएका छन् । जिल्लाका किसानले पाँचमुखे, चारमुखे, चक्लेट, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियसजस्ता पूराना जातका स्याउ फलाएका छन् । रैथाने स्याउमा बर्णशंकरजस्तो किटनाशक औषधिबिना नै फलाउन सकिने अगुवा किसानको भनाइ छ ।

अहिले जिल्लाको तिच्चे, थोंचे, दानाक्यू, ताँचै, तिमाङ, थान्चोक, चामे, पिसाङ, हुम्दे, मनाङ, खाङ्सार लगायतका क्षेत्रमा पूरानो जातका स्याउ फल्ने गरेको छ । जिल्लाका सबै स्थानमा मोटरबाटो पुगेकोले यसबर्ष स्याउ नकुहिने किसानको तर्क छ ।

मनाङमा करिब ७० हेक्टर जमिनमा रैथाने जातको स्याउ खेति हुँदै आएको छ । गतवर्ष यो जातको स्याउ ५ सय टन स्याउ उत्पादन भएको थियो । जिल्लामा स्याउ खेति विस्तार तथा स्याउको क्षेत्रमा काम गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, (स्याउ जोन) समेत स्थापना गरिएको छ । नासो गाउँपालिकाले पनि रैथाने स्याउ विकासका लागि कार्यक्रम बनाएको जनाएको छ ।

किसानहरुबीच रैथाने जातका स्याउ रोप्ने प्रतिस्पर्धा नै छ । तर सरकारी तवरबाट अपेक्षित सहयोग भने नपाएको किसानको गुनासो छ । सिँचाई, मलखाद, उपचारलगायतको व्यवस्थापकीय पक्ष राम्रो हुने हो भने मनाङ मुस्ताङको तुलनामा कम नहुने तर्क किसानको छ ।

तपाईंको बिचार