Monday, November 18, 2019

तिजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने

प्रकाशित मिति: 2019/09/01

भदौ १५, काठमाडौं । यस वर्षको हरितालिका तिजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तिजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो ।

तिज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले सुनाउनुभयो । वैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ ।

तपाईंको बिचार