Monday, October 21, 2019

लद्दाखमा भारत र चीनका सेनाबीच जम्काभेट अनि अबेरसम्म धक्कामुक्की चल्यो

प्रकाशित मिति: 2019/09/12

भदौ २६, काठमाडौँ । भारत र चीनको क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच धक्कामुक्की भएको जनाइएको छ ।

पश्चिमी सीमा लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार दुवै पक्षबीच केहीबेर धक्कामुक्की र विवाद भएको हो ।

भारतको चर्चित अखबार  ‘टाइम्स अफ इण्डिया’ ले लेखेअनुसार लद्दाखमा भारत र चीनका सेनाबीच झगडा परेको हो । बुधबार साँझ पर्नअघि सुरु भएको धक्कामुक्की साँझसम्मै चलेको सो अखबारले लेखेको छ ।

सो अखबारको रिपोर्ट अनुसार बुधवार भारतीय भूभागमा पर्ने लद्दाखको पूर्वी क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच धक्कामुक्की भएको थियो । उनीहरूबीच निकैबेर धकेलाधकेल भएको थियो । १ सय ३४ किलोमिटर लामो सो क्षेत्रको दुई तिहाइ हिस्सा चीनको नियन्त्रण रहेको छ ।

भारतीय सैनिकहरू गस्तीमा रहेका वेला उनीहरूको जम्काभेट चिनियाँ पीपुल्स लिबरेशन आर्मीका सिपाहीहरूसँग भएको थियो । लगत्तै चिनियाँ सैनिकहरूले सो क्षेत्रमा भारतीय सैनिकहरूको उपस्थितिको विरोध गरे । त्यसपछि दुबै पक्ष एकअर्कालाई पछि हट्न दबाव दिन थाले र विवाद चर्कियो । यसलगत्तै दुबै देशले यहाँ सेनाको संख्या बढाएका छन् । सो विवाद र धक्कामुक्की साँझ अबेरसम्म जारी रहेको बताइएको छ ।

पछिल्लो समय भारतले जम्मु तथा कस्मिरको विशेषाधिकार खोसेसँगै लद्दाख क्षेत्रलाई केन्द्र प्रशासित क्षेत्र बनाएको छ । यसको चीनले विरोध र असन्तुष्टी जनाउँदै आएको छ । चीनले आफ्नो भूभाग रहेको क्षेत्रलाई समेत भारतले आफ्नो भनी दावी गरेकोमा चीनले आपत्ति जनाउँदै आएको छ ।

तपाईंको बिचार