Thursday, October 24, 2019

बुद्धशान्ति पदमार्गमा व्यास नगरपालिकाको चासो

प्रकाशित मिति: 2019/09/14

भदौ २८, दमौली । गण्डकी प्रदेशको मनाङदेखि प्रदेश नं ५ को लुम्बिनीसम्म जोड्ने बुद्धशान्ति पदमार्गको विकासका लागि व्यास नगरपालिकाले चासो देखाएको छ । पदमार्गको बारेमा जानकारी गराउँदै पदमार्ग विकासका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी एवं गैरसरकारी संघसंस्थाको सहयोग, सहभागिता र प्रतिबद्धता जनाउने उद्देश्यसहित नगरपालिकाले पदमार्गअन्तर्गत पर्ने स्थानीय तहका प्रमुख एवं प्रतिनिधिलाई बन्दीपुरमा भेला गराएर अन्तरजिल्ला कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

पदमार्गको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वय एवं सहकार्यका लागि वातावरण सिर्जना गर्न कार्यशाला आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

“पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको चाहना र इच्छाअनुसार विविध अनुभव आदानप्रदान गर्न र गण्डकी प्रदेशकै प्रमुख पदमार्गको रुपमा स्थापित गर्न आवश्यक छ”, न्यौपानेले भन्नुभयो, “पदमार्गमा पर्ने जिल्लाको अर्थतन्त्र, संस्कृति तथा विश्व शान्तिका लागि योगदान पु¥याउने महत्वपूर्ण माध्यमको रुपमा यो पदमार्ग विकसित हुन सक्छ ।”

प्राकृतिक एवं सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवद्र्धन गरी ग्रामीण पर्यटन विकासका लागि स्थानीय समुदायको समृद्धि र सुसंस्कृति अभिवृद्धिका लागि पदमार्गले सहयोग पु¥याउने भएकोले यसबारेमा छलफल गर्न आवश्यक रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङका अनुसार बुद्धशान्ति पदमार्गको विकासका लागि नेपाल भ्रमण वर्ष सन् २०११ मा जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा पर्यटन विकास समितिको समन्वयमा स्थलगत अवलोकन भ्रमण गरिएको थियो । जिल्ला विकास समितिको सहयोगमा आव ०७२÷७३ मा तनहुँ र लमजुङको सीमाना कुञ्छाभञ्ज्याङदेखि स्याङ्जाको कोल्मा बराहाचौरसम्म १०९ किमि विस्तृत सर्भेसमेत सम्पन्न भएको गुरुङले जानकारी दिनुभयो ।

जिल्ला विकास समितिकै सक्रियतामा विसं २०७२ असार १८ र १९ गते तनहुँमा बुद्धशान्ति पदमार्गको सम्बन्धमा स्थानीय निकाय अन्तरजिल्ला समन्वय बैठक सम्पन्न भएको थियो । 

पदमार्गअन्तर्गत मनाङको चामे, लमजुङको मस्र्याङ्दी, क्होलासोंथर, बेँसीशहर, सुन्दरबजार, तनहुँको भानु, व्यास, बन्दीपुर, म्याग्दे, शुक्लागण्डकी, स्याङ्जाको पुतलीबजार, भीरकोट, वालिङ, कालीगण्डकी, पाल्पाका तानसेन र रुपन्देहीको बुटवलका स्थानीय तह समेटिएको छ । 

बुद्धशान्ति पदमार्गको उद्गम गण्डकी प्रदेशभित्र भएकोले यसको पहल प्रदेशबाटै हुनुपर्दछ भन्ने मान्यताका साथ नगरपालिकाले पहल शुरु गरेको गुरुङले जानकारी दिनुभयो । “आफ्नो नगरपालिकाभित्र गर्नुपर्ने प्रारम्भिक कार्यका लागि नगरपालिकाको पहल र पदमार्गमा पर्ने अन्य पालिकाहरुसँगको समन्वय प्रशंसनीय छ”, उहाँले भन्नुभयो ।

कार्यशाला गोष्ठीमा सांसद केदार सिग्देलले पदमार्गले दुई प्रदेश जोड्ने भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै यसमा सङ्घीय सरकारका पनि अपनत्व रहने बताउनुभयो । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले बुद्धशान्ति पदमार्गको प्रचारप्रसार गर्दै यसलाई विश्वकै पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुद्धशान्ति पदमार्गलाई स्थानीय तहसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धशान्ति पदमार्गअन्तर्गत पर्ने स्थानीय तहले पदमार्ग विकासका लागि काम गर्नुपर्ने र उक्त काममा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताउनुभयो । “पदमार्गको विकासका लागि स्थानीय तहले प्रस्ताव ल्याए प्रदेश सरकार त्यसमा सहयोग गर्न तयार छ”, मन्त्री लम्सालले भन्नुभयो । 

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पदमार्गको विकासका लागि इच्छाशक्तिको खाँचो रहेको बताउँदै गण्डकी प्रदेशलाई विश्वमै चिनाउने पदमार्गलाई प्रदेश सरकारको सहयोग रहने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्याललगायतले पदमार्ग क्षेत्र पर्ने स्थानीय तहले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष गुरुङले बुद्धशान्ति पदमार्गको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि नेपाल पर्यटन बोर्डका प्रबन्धक लीला बानियाँ र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले टिप्पणी गर्नुभएका थियो । कार्यपत्र प्रस्तोता गुरुङका अनुसार पदमार्ग विकासका लागि विभिन्न प्रयास गरिएको थियो । 

उक्त कार्यशालामा तनहुँ, लमजुङ, स्याङ्जा, पाल्पा, रुपन्देहीलगायतका स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो । मनाङको टिमाङभ्याली हुँदै लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको लुम्बिनीको पुगेर टुङ्गिने उक्त पदमार्ग ३५० किमि रहेको छ ।

तपाईंको बिचार