Thursday, October 24, 2019

गन्तव्य नेपालका अध्यक्ष अधिकारीलाई पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार

प्रकाशित मिति: 2019/09/16

काठमाडौं । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अविरल) ‘पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । सोमबार धुम्बराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित पाँचौ पोष्ट बहादुर बोगटी स्मृति दिवसको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्षसमेत रहनुभएका अधिकारीलाई सो सम्मान प्रदान गर्नुभएको हो । 
सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमला र राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का उपाध्यक्ष प्रकाश खालिङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सो पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो । 
पूर्व पर्यटनमन्त्रीसमेत रहनुभएका नेता बोगटीको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशी २५ हजार रुपैयाँ बराबरको रहेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले स्व. बोगटीलाई एक निष्ठावान अनि निस्वार्थी नेताको रुपमा चित्रण गर्नुभयो । 
आफ्नो हरेक सुखदुखमा बोगटीले साथ दिएको उल्लेख गर्दै उहाँले बोगटीको ऐतिहासिक परिवर्तन र उपलब्धिहरुलाई संस्थागत गर्नका लागि एकता र दूरदृष्टीका साथ अघि बढ्नुपर्ने प्रेरणा आफूलाई मिलिरहेको बताउनुभयो । 
उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, पूर्व सभामुख ओनसरी घर्तीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईंको बिचार