Monday, October 21, 2019

रेशम चौधरी छुट्ने संभावना बलियो

प्रकाशित मिति: 2019/09/22

असोज ५, काठमाडौं ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् ।

टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’

रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ ।’

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।
नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । 

तपाईंको बिचार