Monday, October 21, 2019

यी हुन नयाँ नोट साट्ने स्थान, सहकारी संस्थाले नपाउने

प्रकाशित मिति: 2019/09/23

असोज ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको बैंकले उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।
राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ ।

उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट नयाँ नोट वितरणको चाजोपाजो मिलाइएको जनाएको छ ।
उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।
राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

तपाईंको बिचार