Monday, October 21, 2019

मेलम्चीको दोस्रो परियोजनामा राजनीति हाबी, मुआब्जा नलिन स्थानिय नेताको दबाब

प्रकाशित मिति: 2019/09/23

६ असोज, काठमाडौं । दोस्रो खण्डको निर्माण अघि नबढ्दै मेलम्ची आयोजनामा राजनीति घुसेको छ । आयोजनाको प्रवेश मार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएलगत्तै स्थानीय नेताहरुले चलखेल गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण गर्न सूचना निकालेको थियो । तर, धेरै स्थानीयहरु मुआब्जा बुझ्न आएका छैनन् ।

विभिन्न कारणले अहिलेसम्म मुआब्जा वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

मुआब्जा लगायतका विषयमा असन्तुष्टि जनाएर प्रभावित बासिन्दाले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, प्रमुख जिल्ला अधिकारी चेम्जोङले आफूले नै जग्गाको मूल्यांकन गरेकाले यसमा पुनरावलोकन गर्न नसक्ने बताइन् ।
नेताहरुले अहिले नै मुआब्जा बुझे सामाजिक बहिस्कार खेप्नुपर्ने धम्की दिएको एक स्थानीयले बताए । मुआब्जा चित्तबुझ्दो नभएको अवस्थामा आर्थिक समस्यामा परेकाहरुलाई झन समस्या थपिएको उनको भनाई छ ।

तपाईंको बिचार