Monday, October 21, 2019

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

प्रकाशित मिति: 2019/09/25

८ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए । 

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दशैँ मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन यातायात व्यवसायी गम्भीर भएर लागेको बताउँछन् ।

जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे–नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए–नभएको, सवारी साधनभित्र भाडादर राखे–नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे–नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे–नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ ।

यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउँछन् । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउँछन् । चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ ।

 

तपाईंको बिचार