Monday, October 21, 2019

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

प्रकाशित मिति: 2019/09/30

असोज १३, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो ।

प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा र्पुयाउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ ।
राष्ट्रिय सभागृहमा सोमबार मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत बिभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ । नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।
सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले  (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’
सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो ।
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ ।

तपाईंको बिचार