Wednesday, January 29, 2020

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

प्रकाशित मिति: 2019/12/11

२५ मंसिर, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ । अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए ।
यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ । त्यसपछि ट्रायल पास भएकै र नवीकरणका लागि पेश गरेकै दिनमा लाइसेन्स दिन सकिने अवस्था आउँछ,’ उनले भने ।
यद्यपि, उनले भनेजस्तो ट्रायल पास भएकै दिनमा लाइसेन्स दिन सम्भव भने देखिँदैन, किनभने लाइसेन्सको छपाइ काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा भइरहेको छ । लाइसेन्स वितरण गर्ने जिम्मेवारी देशभरमा दर्जनभन्दा बढी यातायात कार्यालयले पाएका छन् ।
अहिले करिब ९ लाख चालक सबै प्रक्रिया पूरा गरेर लाइसेन्सको प्रतीक्षामा छन् । चालकलाई राजश्व तिरेको बिलका भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । सरकारले लामो समयदेखि स्मार्ट लाइसेन्सको माग धान्न सकेको छैन । देशभर लाइसेन्स वितरण भए पनि त्यसअनुसार कार्डको छपाइ गर्न नसक्दा लाखौं सवारी चालक लाइसेन्सविहीन हुन पुगेका छन् । लाइसेन्स छाप्ने ठूलो मेसिन चलाउने प्राविधिकका लागि निर्माता कम्पनीले बोलाएको तालिममा यातायात मन्त्रालयका सहसचिवहरु इटाली पुगेका थिए ।

 

तपाईंको बिचार