Wednesday, April 1, 2020

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ७७ हजार ६ सय

प्रकाशित मिति: 2020/02/20

८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो । यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ । बिहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताएका छन् । अघिल्लो वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक २०,२२ किलोमा सिमित भएको महासंघले जनाएको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा लगानीकर्ताहरुले लगानी सुरक्षित गर्न सुनमा लगानी गर्दा मूल्य बढेको सुन व्यवसायी धर्मसुन्दर बज्राचार्यले बताए ।

 

तपाईंको बिचार