Monday, May 22, 2017  |    

नयाँ नेपालको नेतृत्व गरेको भन्दै दिल्लीमा प्रचण्डको प्रशंसा

प्रकाशित मिति: 2016/09/18

असोज २, नयाँदिल्ली । नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको भारी बोकाएर काठमाडौं पठाएका छन् । भारतीय नेताहरुले लगभग एउटै स्वरमा अब नेपाललाई नेतृत्व दिन सक्ने सक्षम नेता तपाई नै हो भनेर प्रचण्डलाई प्रोत्साहित गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई नेपालको शान्ति प्रक्रियाको क्याटलिष्ट भन्दै प्रशंसा गरेका छन् । मोदीको प्रशंसाबाट प्रचण्ड निकै प्रशन्न देखिएका छन् ।
त्यस्तै गृहमन्त्री राजनाथ सिंहले पनि प्रचण्डलाई प्रशन्न बनाएको उनको बडी ल्यांग्वेजबाटै बुझ्न सकिन्छ ।
शनिबार राति सरदार पटेल मार्गस्थित होटल ताजमा नेपालका प्रधानमन्त्री प्रचण्डका लागि इण्डिया फाउन्डेसनले नागरिक अभिनन्दनको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रचण्डको प्रशंसा गर्दै जनता दल युनाइटेडका नेता शरद यादवले उनलाई ‘संग्रामी आदमी’ भएको बताए ।
नेपाल र भारत दुबै देशमा रहेको गरिबी र पछौटेपनविरुद्ध मिलेर संग्राम गर्न आग्रह गर्दै यादवले प्रचण्डलाई भने, ‘तपाई संग्रामी मान्छे हो, म तपाईको अभिनन्दन गर्छु । हामी त त्यो समयको पनि मित्र हौं ।’
प्रचण्डका लागि आयोजित नागरिक अभिनन्दनमा भारतीय जनता पार्टीका भगतसिंह कोसियारीदेखि पूर्वसैनिक जनरल अशोक मेहता पनि उपस्थित थिए । कार्यक्रममा प्रचण्डलाई भारतका रेलमन्त्रीले दोसल्ला ओढाएका थिए भने सानो मयुरको प्रतिमासमेत उपहार दिइएको थियो । प्रचण्डपत्नी सीतालाई कपडा उपहार दिइएको थियो ।

 

 
 
 

 

तपाईंको बिचार