Thursday, March 30, 2017  |    

बेगखोलाको यात्रा, कत्रोे सास्ती

प्रकाशित मिति: 2016/09/20

आश्विन ४, मुस्ताङ । बेनी–जोमसोम सडकको बैसरी–तिप्ल्याङ्ग खण्डको बेगखोलामा दुई साताअघि आएको बाढी, पहिरोले बेलिव्रिज र झोलुङ्गे पुल बगाएपछि यात्रा कष्टकर र जोखिमयुक्त भएको छ ।
बेनी–जोमसोम सडक सहज नहुँदा मुस्ताङ्गी कृषकको बारीमा लटरम्म पाकेका स्याउ ढुवानीमा समस्या भएको छ । लाग्दो असोजदेखि नै मुस्ताङ्गी स्याउ बजार पठाउने तयारीमा रहेका कृषक सडक खुल्ने प्रतिक्षामा छन् ।
बेगखोला क्षेत्रमा निरन्तर भारी बर्षाका कारण पहिरो खस्ने र भेल आउनेक्रम नरोकिएकोले दिनभर स्थानियले बनाएका काठका साँघु र डोजरले भेलपानी बाँडेर गाडी तार्ने बनाउने गरिए पनि कामयावी भएको छैन । ठाडो खहरेले निरन्तर गेगर बगाएर ल्याउने गरेकोले पानीको बहाव निश्चित भएको छैन । क्षण–क्षणमा भेलको बहाव परिवर्तन हुने भएकोले सडक विभागको एउटा डोजर निरन्तर खोलामा राखी बाढी बाँडेर यात्रु तर्न सक्ने बनाउने गरिएको छ ।
बेगखोलामा झोलुङ्गे तथा मोटरपुल बाढीले बगाएपछि यात्रु र स्थानीयले सास्ती खेप्नु परे पनि समस्याको फाइदा उठाउनेहरुले भने राम्रो कमाई गरिरहेका छन् । केही भरिया, ट्याक्टर तथा सडक विभागको डोजरले समेत यात्रुलाई खोला वारपार गराएबापत महागो शुल्क असुल्ने गरेका छन् । यात्रु तारेबापत भरियाले प्रतियात्रु दुई सय, ट्याक्टरले यात्रुको एक सय र मोटरसाइकलको पाँच सय रुपैयाँ भाडा लिने गरेका छन् । प्रहरी घटनास्थलमा उपस्थित भए पनि यात्रुबाट भाडा असुल्न मिलेमतो हुने गरेको आरोप स्थानीयको छ ।

 
 

 

 

तपाईंको बिचार