Thursday, June 29, 2017  |    

वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवार नियोजनको साधन प्रयोगकर्तामा कमी

प्रकाशित मिति: 2016/09/21

असोज ५, रोल्पा । रोल्पामा बैदेशिक रोजगारीको प्रभाव परिवार नियोजनको साधन प्रयोगमा देखिएको छ ।
अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पामा अस्थायी परिवार नियोजनको साधन प्रयोगकर्ता घट्न थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवार नियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरेको छ ।
घरमा श्रीमान् हुँदा गर्भवती हुने डरका कारण अस्थायी साधन प्रयोगकर्ता बढ्ने गरेको भए पनि रोल्पाका अधिकांश विवाहित पुरुष वैदेशिक रोजगारीमा रहेकाले अस्थायी परिवार नियोजनको साधन आवश्यक नहुँदा तिनको प्रयोगकर्ता घटेको हुनसक्ने कार्यालयका नर्स आशा थापाले बताउनुभयो । परम्परागत सुरक्षित तरिका अपनाएर पनि शारीरिक सम्बन्ध राख्ने दम्पतीको संख्या बढेकाले पनि अस्थायी साधन प्रयोगकर्ता घटेको हुनसक्ने उहाँको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा पिल्स एक हजार ४३ जना, डिपो चार हजार चार ८४ जना र नरप्लान्ट पाँच हजार चार सय २० जनाले प्रयोग गरेकामा गत वर्ष पिल्स नौ सय ८२ जना, डिपो तीन हजार चार ९१ जना, नरप्लान्ट सात सय १६ जनाले प्रयोग गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या अघिल्लो वर्ष ८४ प्रतिशत रहेकामा गतवर्ष ८५ प्रतिशत पुगेको छ ।

जिल्लामा अझै १५ प्रतिशत महिलाले असुरक्षित प्रसूति गराउने देखिएको छ । स्वास्थ्य संस्थामा २० वर्ष मुनिका महिला गर्भ परीक्षण गराउन निकै कम आउने गरेको देखिएको छ । कम उमेरमै विवाह गरी गर्भवती हुने महिला लाजले पजि स्वास्थ्य संस्थामा निकै कम आउने गरेको थापाले बताउने भयो ।  

 

तपाईंको बिचार