Wednesday, April 26, 2017  |    

भारतका लागि राजदूत उपाध्याय बहुमतबाट अनुमोदित

प्रकाशित मिति: 2016/10/02

आश्विन १६, काठमाण्डौ । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको नाम संसदीय सुनुवाई विशेष समितिको बहुमतले अनुमोदन गरेको छ ।
एमाले र राप्रपा नेपालले उपाध्यायलाई समर्थन नगरेपछि उनी सर्वसम्मत हुन नसकेका हुन् । संसदीय सुनुवाई समिति सम्भवतः पहिलोपटक व्यक्तिको नाममा विभाजित भएको हो ।
चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्याल र न्यायपरिषद् सदस्य रामप्रसाद सिटौलाको भने सर्वसम्मत अनुमोदन भएको छ ।
उपाध्यायको हकमा एमाले र राप्रपा नेपालको असहमतिका कारण सुनुवाई भएको चार दिनसम्म अनुमोदन भएको थिएन ।

आइतबार बसेको बैठकमा सभापति कुलबहादुर गुरुङले उपाध्यायको नाम अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गर्दा एमाले र राप्रपा नेपाल विपक्ष उभिए । यद्यपि समितिमा कांग्रेस, माओवादी केन्द्रको बहुमत भएकाले उपाध्यायको नियुक्ति प्रक्रिया भने रोकिएन ।
भारतको राजदूत हुँदा सरकारलाई असहयोग गरेको, परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई घुमेको लगायतका   आरोप लगाउँदै तत्कालिन केपी ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले तत्कालिन सरकारले उनीमाथि लगाएका आरोप प्रमाणित भएकाले आफूहरु स्थिर उभिएको बताए । संसदीय सुनुवाईमै सर्वसम्मत हुन नसकेका उपाध्ययाले समग्र मुलुकको प्रतिनिधित्व गर्न नसक्ने ढकालको भनाइ छ ।

 

 
 

 

तपाईंको बिचार