Monday, April 24, 2017  |    

भूकम्पपीडितलाई दसैं अघि राहत दिन सांसदहरुको माग

प्रकाशित मिति: 2016/10/02

आश्विन १६, काठमाण्डौ । व्यवस्थापिका–संसदमा आज शून्य समयमा भाग लिने सांसदहरुले बाढीपीडित र भूकम्पपीडितलाई दसैं अघि नै राहत र अनुदान रकम उपलब्ध गराउन माग गरेका छन् ।
बैठकमा पहिलो वक्ताको रुपमा नेकपा (माओवादी केन्द्र)का सांसद दुलाली हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला भनी प्रश्न गरे ।
उनले भने, ’नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिइनु हुँदैन ।’
नेकपा (एमाले)का धनबहादुर घलेले भूकम्पपछि तयार गरिएको लाभग्राहीको सूचीमा धादिङमा १४ हजार पीडितको नाम छुटेको भन्दै त्यसलाई सच्चाउन माग गरे ।

एमालेकै सांसद नरबहादुर थापामगरले धौलागिरि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र परिचारिकाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे ।
माओवादी केन्द्रका सांसद प्रतीक्षा मुखिया तिवारीले सहिद परिवार, बाढीपहिरो र भूकम्पपीडितलाई दसैं अघि नै राहत दिइनुपर्ने बताए ।
व्यवस्थापिका–संसद्को् अर्को बैठक यही असोज १८ गते मंगलबार ११ बजे बस्नेछ ।  

 

तपाईंको बिचार