Sunday, November 19, 2017

राष्ट्रबैंकमा नयाँ नोट शुक्रबारसम्म साट्न पाईने, हालसम्म १ अर्व ३० करोड बाँडियो

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ ।
गत आइतबारदेखि राष्ट्र बैंकले सीधै सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको थियो । ‘थापाथली शाखाबाट मात्रै ३ दिनमा १ अर्ब ३० करोड नयाँ नोट बाँडिएको छ ।
राष्ट्र बैंकले यसअघिनै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट वितरण गरिसकेको छ भने उपत्यका बाहिरका आफ्ना पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई सीधै नयाँ नोट वितरण गरिरहेको छ । उपत्यका बाहिरका कार्यालयहरुबाट कति नयाँ नोट वितरण गरियो भन्ने तथ्यांक आइनसकेको राष्ट्र बैङ्कका प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।
पंगेनीका अनुसार राष्ट्र बैंकको थापाथली शाखाबाट आइतबार ३० करोड, सोमबार ४५ करोड रुपैयाँ नयाँ नोट सर्वसाधारणलाई बाँडिएको थियो भने र मंगलबार ५० करोड रुपैयाँको हाराहारीमा बाँडिएको हो ।

दशैं तिहार र छठका लागि मात्रै ८ अर्ब रुपैयाँको हाराहारीमा बजारमा नयाँ नोट जाने आँकलन गरिएको उनले जानकारी दिए । ‘हाम्रो आँकलन चाडबाडमा ८ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाउनुपर्ने हुन्छ भन्ने हो,’ पंगेनीले भने, ‘तर, बजारले जति माग्छ त्यति पठाउन तयार छौं ।’
राष्ट्र बैंकले बजारमा नोट प्रवाह नगरेका कारण नोटको अभाव हुन नदिने पंगेनीको भनाइ थियो ।
राष्ट्र बैंकबाट सीधै साट्दा एक सर्वसाधारणले सय रुपैयाँ र सोभन्दा कम दरका सबै दरका २ बण्डलका दरले ३७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने उनले बताए । गत वर्षको दशैंका एक व्यक्तिले २२ हजार रुपैयाँ मात्रै साट्न पाउँथे ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारी, कर्मचारीका निकट मान्छे, पहुँचवाला मान्छे र बैंकका ठूला ग्राहकलाई मात्रै नयाँ नोट दिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको ठूलो लाइन लागेको छ ।
यद्यपि राष्ट्र बैंकमा पनि कर्मचारीहरुले भित्रैबाट लाखौलाख रुपैयाँ नयाँ नोट साट्ने गरेका छन् । नयाँ नोट साट्न राष्ट्र बैंकमा सर्वसाधारणहरु ५,६ घण्टासम्म लाइन बसेका छन् ।

 

 

 

 

तपाईंको बिचार