Saturday, April 29, 2017  |    

अख्तियार प्रमुखलाई महाअभियोग लगाउन सक्दैनौ :शिक्षामन्त्री पौडेल

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । सरकारले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने कुरा आफ्नो अधिनमा नरहेको बताएको छ ।
बरिष्ठ चिकित्सक डा. गोबिन्द केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहित चारबुँदे माग राखेर असोज १० गतेदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनमा रहीरहेका बेला सरकारको यस्तो बताएको हो ।
 हाल डा. केशीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
डा. केसीका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना थालेका छन् भने शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले इमर्जेन्सी र अपरेशनबाहेकमा काम गरेका छैनन् ।

तर, सरकारले भने केसीसँग भएका सम्झौता कार्यान्वयनको प्रक्रियामा रहेको बताएको छ । शिक्षामन्त्री धनिराम पौडेलका अनुसार मंगलबार राति अबेरसम्म सोलिडारिटी फर डा. केसी अलाइन्सका प्रतिनिधिसँग वार्ता भएको थियो । र, बुधबार पनि वार्तामा बस्ने तयारी छ ।
साथै सरकारका प्रतिनिधिले डा. केसीलाई नै भेटेर सहमति कार्यान्वयनमा भएको प्रगतिबारे जानकारी गराउने योजना छ ।  
मन्त्री पौडेलका अनुसार यसमा लिखित प्रतिवद्धता वा सहमति गर्न पनि सरकार तयार छ । तर, वार्तामा डा. केसीका प्रतिनिधिहरुले भने अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया सुरु गर्नु पर्ने र चिकित्सा शिक्षा ऐन छिटो पारित गर्नुपर्ने अडान राखेका छन् ।

मन्त्री पौडेलले भने, ‘सरकारले निर्णय गरेर कसैलाई महाअभियोग लगाउने कुरा आउँदैन । यो हाम्रो बसको विषय होइन भनेर हामीले प्रष्ट भनेका छौं ।’ माओवादी नेतासमेत रहेका उनले अघि भने, ‘हामी कुनै सांसदलाई महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्नुस् पनि भन्न सक्दैनौं ।’
संसदको नियमावली अनुसार तीन सांसदले महाअभियोग प्रस्तावका लागि निवेदन दिन सक्छन् । र, यसलाई महाअभियोग सिफारिस समितिले अघि बढाउने नबढाउनेबारे छानविन गर्नेछ । त्यसपछि पनि सांसदले हस्ताक्षर गरेपछि मात्रै संसदको एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्नेछन् । र, दुई तिहाइले अनुमोदन गरे मात्र पास हुन्छ ।

सभामुख ओनसरी घर्ती मगरले महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव गरे पनि दलहरुबीच सहमति जुट्न बाँकी छ । डा. केसीको मागअनुसार महाअभियोग प्रस्तावका लागि निवेदन दिने तीन सांसद पनि अहिलेसम्म भेटिएका छैनन् ।

 
 

 

तपाईंको बिचार