Friday, October 20, 2017

भारतीय राष्ट्रपतिलाई जनकपुरमा भव्य स्वागतको तयारी

प्रकाशित मिति: 2016/10/18

धनुषा,२ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा जनकपुरमा भव्य स्वागतको तयारी हुँदैछ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुर उपमहानगरपालिका, जिल्ला विकास समिति धनुषाका प्रतिनिधिसहितको उपस्थिति थियो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

तपाईंको बिचार