Thursday, March 23, 2017  |    

निषेधको राजनीति त्याग्न दलहरुलाई पूर्वराजा ज्ञानेन्द्रको आग्रह

प्रकाशित मिति: 2016/10/20

कात्तिक ४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।

‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्दे्शित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ।

गणतन्त्र स्थापना पछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले अगाडि भने, ‘आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’

यसैबिच पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । उनले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणा समेत राखे ।
भाषा, इतिहास, धर्म दर्शन देशका धरोहर, वैभव र प्राण हुन् भन्दै उनले सनातन हिन्दुहरु जो जहाँ छन् त्यहाँ शान्ति र सदभाव हुने बताए ।

 

तपाईंको बिचार