Sunday, May 28, 2017  |    

एमालेले अहंकार देखायो भन्दैमा लोकमानको पक्षमा उभिनु हुदैन: प्रदिप पौडेल

प्रकाशित मिति: 2016/10/21

कात्तिक ५, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा युवा नेताहरुले प्रमुख विपक्षी एमालेले अहंकार देखायो भन्दैमा पार्टी अख्तियार प्रमुख लोकमान सिंह कार्कीको पक्षमा उभिन नसक्ने बताएका छन् ।

प्रमुख विपक्षी दल एमालेले सत्तारुढ माओवादीका सांसदहरुलाई साथमा लिएर लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । आफूले पार्टीमा छलफल गर्छु भन्दा भन्दै थाहै नदिई प्रस्ताव दर्ता गराएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस लोकमानको रक्षाकबच बन्न नसक्ने बताएका छन् । लोकमान प्रकरणले चुनावदेखि संविधान कार्यान्वयनसम्म प्रभावित हुन सक्ने खतरा रहेको भन्दै उनले दलहरुको एकता कायम राख्न पनि महाअभियोगको पक्षमा उभिनु पर्ने बताए ।
कांग्रेसलाई सहमतिमा नलिई प्रस्ताव दर्ता गर्नु एमाले र केपी ओलीको अहंकार भएपनि कांग्रेस लोकमानको रक्षाकवज बन्न नसक्ने बताए ।
अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आफूहरु कांग्रेसलाई लोकमानविरुद्ध उभ्याउन प्रयत्नरत रहेको बताए । कांग्रेस लोकतान्त्रिक दल भएको भन्दै उनले अघि भने, कांग्रेस लोकभावना विपरित लोकमानको पक्षमा उभिन सक्दैन । लोकमानलाई अख्तियार प्रमुख बनाउने क्रममा तीन वटै दलले गल्ती गरेका थिए, अहिले तीनै दल मिलेर गल्ती सच्याउनुपर्छ ।’

बिहीबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लोकमानबारे नै बहस भइरहेको छ । आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले पनि लोकमानको पक्षमा उभिन गाह्रो रहेको बताएका थिए ।

बैठकमा गगन थापा, विश्व प्रकाश शर्मा लगायतले कांग्रेस महाअभियोगको पक्षमा उभिनु पर्ने धारणा राखेका थिए ।

 

तपाईंको बिचार