Thursday, April 27, 2017  |    

राष्ट्रपतिको आग्रहमा बिदा दिने निर्णय भयो :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/10/28

कात्तिक १२, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको बताएका छन् । साथै यो निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मुखर्जीको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय आफू एक्लैले नगरेको शुक्रबार विद्यार्थी नेताहरुसँग बताएका हुन् ।
महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

 

माओवादीभित्रै असन्तुष्टि

विद्यार्थी नेताले प्रधानमन्त्रीलाई भेट्नुपूर्व माओवादी निकट जनवर्गीय संगठनका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सो भेटमा भारतीय राष्ट्रपति नेपाल आउँदा किन विदा दिएको भनेर माओवादी केन्द्रनिकट जनवर्गीय संगठनका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई र्याखर्याख्ती पारेका थिए । त्यहाँ पनि प्रधानमन्त्रीले विदा दिने प्रस्ताव राष्ट्रपतिको भएको स्पष्ट पारे ।

शुक्रबार विहान माओवादी निकट वाइसीएल, अखिल क्रान्तिकारी, महिला संघ क्रान्तिकारी, दलित मुक्ति मोर्चालगायत जनवर्गीय संगठनका अध्यक्षहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवार गएका थिए । उनीहरुले सार्बजनिक विदा दिने निर्णयले जनतामा नकारात्मक सन्देश गएको भन्दै सम्भव भए निर्णय सच्चाउन प्रचण्डलाई सुझाव दिएका थिए । उनीहरुले सुरक्षा चुनौति भए आवश्यक प्रवन्ध मिलाउनुपर्ने तर भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय अनुचित हुने बताएको भेटमा सहभागी एक नेताले बताए ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले मुखर्जी नेपाल भ्रमणमा आउने दिन कात्तिक १७ गते सार्बजनिक विदा दिने निर्णय गरेपछि यसबारे तीव्र प्रतिक्रियाहरु आइरहेका छन् । सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

 

 

तपाईंको बिचार