Monday, December 18, 2017

मुखर्जी २५ मिनेटको समयलाई ४५ मिनेट लगाएर यसरी जनकपुरमा पुग्दै

प्रकाशित मिति: 2016/11/04

कार्तिक १९, काठमाडौं । काठमाडौं देखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ ।

बुद्ध एयरको फ्रेन्च–इटालियन एटीआर विमानमा हुने राजकीय सवारी काठमाडौंबाट उडेपछि जनकपुरको हवाई बाटो नसमातेर पूर्व–उत्तर हुँदै उड्नेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको बायाँतर्फको सिटमा एक्लै रहने राष्ट्रपति मुखर्जी हिमाल हेर्दै जनकपुर पुग्नेछन् ।


‘नियमित उडानको समय २५ मिनेट हो तर राष्ट्रपतिलाई हिमाल देखाउँदै जाँदा थप १०–१५ मिनेट समय अवधि बढ्नेछ । राष्ट्रपति उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १० बजेदेखि साढे १० बजेसम्म आधा घण्टाका लागि नोटाम जारीपछि विमानस्थल बन्द गरेको छ ।

भीभीआईपी उडान १० बजेर २० मिनेटमा जनकपुरका लागि उड्नेछ । त्यसपछि बुद्धको अर्को एटीआर विमानमा भारतबाट आएका पत्रकार, सांसद र विधायकलगायतका डेलिगेट उड्नेछन् । डेलिगेटको उडान अवधि भने २५ मिनेटकै हुनेछ । उनीहरूले माउन्टेन फ्लाइटको अनुभव लिने छैनन् ।

राष्ट्रपतिको उडानका साथसाथै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर र गृहमन्त्री बोकेर अर्को निजी हेलिकप्टर उड्ने कार्यतालिका छ । सेनाको हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गर्नेछ । उक्त हेलिकप्टरले राष्ट्रपतिको जनकपुर बसाइका क्रममा हवाई–रेकी गर्नेछ ।

तपाईंको बिचार