Wednesday, March 29, 2017  |    

संविधान संशोधनको आवश्यक्ता छैन :नेपाल

प्रकाशित मिति: 2016/11/07

कात्तिक २२, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको बताएका छन् । उनले त्यसमा सहमति पनि हुन नसक्ने स्पष्ट पारे ।
सोमबार नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजसँग भएको भेटवार्तामा नेता नेपालले सो धारणा राखेका हुन् । भेटमा राजदूत टेप्लिजले संविधान संशोधनको तयारीबारे चासो राखेकी थिइन् ।
‘नेता नेपालले मधेसी दलहरुको मागअनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटोछिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभयो ।
एमाले वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेपालसँग राजदूत टेप्लिजले राजनीतिक स्थायीत्वका लागि नेपालका दलहरु एक ठाउँमा आउने विश्वास व्यक्त गरेकी थिइन् ।

नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै टेप्लिजले नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरिन् ।
 

तपाईंको बिचार