Monday, December 18, 2017

अंगिकृतलाई राष्ट्रपति बनाउन सकिदैन: कोइराला

प्रकाशित मिति: 2016/11/08

कार्तिक २३, धनगढी । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अंगिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन, कैलालीद्वारा आज धनगढीमा आयोजत पत्रकार सम्मेलनमा डा कोइरालाले अंगिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा र्पुयाए राष्ट्रको हित नहुने धारणा राखे ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै उनले भने, ’राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्छ ।’

पत्रकारको प्रश्नमा उनले संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उनले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्ने कांग्रेसको धारणा रहेको बताए ।

 

 

तपाईंको बिचार