Friday, June 23, 2017  |    

झापाको पुनर्संरचना विवाद उत्कर्षमा, सरकारी कार्यलयमा कालो झण्डा सहितको बिरोध कार्यक्रम

प्रकाशित मिति: 2016/11/10

कात्तिक २५, झापा । स्थानीय तह पुनर्संरचना गर्दा आफूहरुको मागलाई वेवास्ता गरिएको भन्दै झापा क्षेत्र नं. ७ का राजनीतिक दल आन्दोलित बनेका छन् ।

लखनपुर, तोपगाछी र धरमपुरलाई गाभेर दमक उपमहानगरपालिका बनाइनु पर्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत विहीबार प्रस्तावित दमक उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालयमा कालो झण्डा राखिएको छ भने यस क्षेत्रभित्र सरकारी सवारी साधनलाई आवतजावतमा समेत रोक लगाइएको छ ।
यसैबिच इलाका प्रहरी कार्यालय, दमकमा कालो झण्डा राख्ने क्रममा ३ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ७ का इञ्चार्ज गगन पुरीसहित नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य शंकर बस्नेत, प्रेम विमली र नेपाली कांग्रेसका दिपेश दाहाललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको हो ।
आन्दोलन परिचालन समितिले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ । समितिको दोस्रो चरणको कार्यक्रमहरुमा गाउँगाउँमा जनतासँग अन्तरक्रिया, जनप्रर्दशन, रिले अनसन लगायत छ ।
यसैबीच, नेकपा एमालेसहितका अन्य ६ राजनीतिक दलले स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले तय गरेको १५ वटा स्थानीय तहसहितको खाकामा विरोध जनाएका छन् ।
उनीहरुले केही दलको आडमा गरिएको निर्णय संशोधन गर्न माग गरेका छन् । असन्तुष्ट दलले जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेकपा एमाले झापाका इञ्चार्ज रविन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दिपक दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

तपाईंको बिचार