Sunday, August 20, 2017  |    

पखालाको प्रकोप नियन्त्रण भएन

प्रकाशित मिति: 2016/11/11

कात्तिक २६, लहान । सिरहाको औरही गाविसमा फैलिएको पखालाको प्रकोप अझै नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित भएका छन् । गत पाँच दिनदेखि फैलिएको पखालाका कारण हालसम्म ५० जनाभन्दा बढी बिरामी परेका छन् ।

पखालाबाट प्रभावितमध्ये बिहीबार मात्र थप १५ जना बिरामी उपचारका लागि आएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र औरहीका निमित्त प्रमुख रामनारायण सिंहले जानकारी दिनुभयो । यसअघि गत बुधबार सम्ममा ३६ जना बिरामीको उपचार गरेको थियो । पखालाबाट औरही–३ का सात वर्षीय बालक अर्जुन यादवको गत आइतवार मृत्यु भएको थियो ।

औरही–२, ३, ५ र ८ मा पखालाको प्रकोप फैलिएको स्थानीयवासीले बताएका छन् । बिरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखापरेका छन् । एकै पटक ठूलो सङ्ख्यामा पखालाका बिरामी बढेपछि अस्पतालमा शय्याको अभावमा भुुइँमै बिरामी उपचार गराउन बाध्य भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशङ्करलाल कर्णले पखाला फैलिएको औरहीमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्तरुपमा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरिरहेको प्रमुख डा कर्णले बताउनुभयो । खानेपानी परीक्षणका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । रासस

तपाईंको बिचार