Monday, April 24, 2017  |    

लोकमानबारे संसदमा आलटाल, अर्को बैठक कार्तिक २९ मा तय

प्रकाशित मिति: 2016/11/11

कात्तिक २६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा भइरहेको छलफल थप लम्बिने भएको छ ।
एमाले र माओवादीका १५७ सांसदले कात्तिक ३ गते कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसको चार दिनपछि संसदमा यो प्रस्ताव पेश भएको थियो । तर, तिहारअघि ९ गतेको बैठकमा झण्डै दुई घन्टा मात्रै छलफल गरेर स्थगित भएको संसद बैठक शुक्रबार बसेको हो ।
तर, महाअभियोग प्रस्तावमा बोल्न चाहने सांसदहरुको सूची लामो बनाइएकाले शुक्रबारको बैठकमा छलफल सकिने सम्भावना छैन । साथै संसदको अर्काे बैठक कात्तिक २९ गते मात्रै बस्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुख रुस जाने तयारी

मंसिरको पहिलो साता सभामुख ओनसरी घर्तीमगर एक साताका लागि रसिया भ्रमणमा जाने कार्यक्रम छ ।
यसअघि सभामुखको टोली नर्वे भ्रमणको तयारीमा थियो । तर, संसदमा लोकमानविरुद्ध महाअभियोग दर्ता भएपछि उनको भ्रमण रद्द भएको थियो ।
यदि संसदमा प्रारम्भिक छलफल सकिएको भए महाअभियोग सिफारिस समितिमा छानविनका लागि जान्थ्यो । तर, संसदले छलफल लम्ब्याएपछि महाअभियोगबारे संसदले निर्णय लिन निकै समय लाग्ने देखिएको छ ।

कार्यविधि तयार छैन
संसदमा छलफल लम्बिँदै गर्दा महाअभियोग सिफारिस समितिले पनि अझै कार्यविधि पास गर्न सकेको छैन ।
शुक्रबार बसेको समितिको बैठकमा उपसिमितिले बनाएको प्रतिवेदनको मस्यौदामाथि छलफल भए पनि टुंगो लागेन ।  कार्यविधिको मस्यौदा अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ । अब प्राप्त सुझावका आधारमा अन्तिम रुप दिइने समिति सदस्य अमनलाल मोदीले जानकारी दिए । समितिको अर्को बैठक मंसिर २ गतेका लागि बोलाइएको छ ।
कात्र्तिक ३ गते गठन भएको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले अहिलेसम्म सभापति समेत छान्न सकेको छैन । हाल समितिकी जेष्ठ सदस्य कुमारी लक्ष्मी राईको अध्यक्षतामा बैठक बस्दै आएको छ ।
 

 

तपाईंको बिचार