Thursday, March 23, 2017  |    

जसले गरे बौद्ध स्तुपालाई २६ किलो सुन दान

प्रकाशित मिति: 2016/11/13


कार्तिक २८, काठमाडौं । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तुपा नयाँ रुपरङमा पुनर्निर्माण सम्पन्न भएसँगै एक जना बौद्ध धर्मगुरु भित्रभित्रै बढी चर्चामा छन्। भरतको धर्मशालास्थित शेराबलिङ गुम्बामा बस्ने ती निर्वासित रिम्पोछे हुन्, ताइ सितुपा, जसले बौद्ध स्तुपाको गजुरमा राख्न एक्लै करिब ११ करोड मूल्य बराबरको २६ किलो सुन दान गरे।

२०७२ बैशाख १२ को भूकम्पले काठमाडौँको एउटा मुख्य पर्यटन गन्तव्य बौद्ध स्तुपाको गजुर क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माणबारे छलफल सुरु भयो। भूराजनीतिक स्वार्थ समेत जोडिएको धार्मिक पर्यटन केन्द्र बौद्ध स्तुपा पुनर्निर्माणमा सहयोग दिनेहरूको कमी हुने कुरै भएन।

तर बौद्ध स्तुपा पुनर्निर्माणको खास महत्व भनेको गजुर ९गंजरा० मा राख्न लाग्ने थप ३१ किलो सुन थियो। ताइ सितुपाका नेपाल प्रतिनिधि धुन्डुप लामाका अनुसार रिम्पोछे एक्लैले २६ किलो दिएपछि बाँकी पाँच किलो सुन स्थानीय बौद्धमार्गीहरुको सहयोगमा जुटाइयो।

‘बौद्ध स्तुपा गजुरमा पहिले नै सुनका पाता थिए, यसपाली ३१ किलो सुन थपेर निकै राम्रोसँग बनाइएको छ’, लामाले बौद्धमा भने। हुन पनि पुनर्निर्माणपछिको बौद्ध स्तुपा निकै आकर्षक देखिएको छ, जसको उद्घाटन मंसिर ७ गते प्रधानमन्त्रीले गर्दैछन्।

एक किलो सुनमा ८५ तोला हुन्छ। अहिलेको बजार भाउ तोलाको ४८ हजार ८ सय ५२ रुपैयाँका दरले किलोको ४१ लाख ८८ हजार ८ सय १२ पर्न आउँछ। यसरी जोड्दा २६ किलोको मूल्य १० करोड ८९ लाख ९१ हजार १२ रुपैयाँ हुन्छ।

धुण्डुपका अनुसार ताइ सितुपा रिम्पोछेले आफ्नो अन्य स्रोत र काठमाडौँको सुन्दरीजलमा रहेको जग्गा बेचेर २६ किलो सुन किन्ने पैसा जुटाएका हुन्। उनले पुनर्निर्माणका लागि बौद्धनाथ विकास समितिको कोषमा एक करोड रुपैयाँ नगद पनि जम्मा गरिदिएको धुण्डुपले बताए।

बौद्ध स्तुपाको पुनर्निर्माणसँगै करिब ११ करोड मूल्य बराबरको सुन एक्लै दान गर्ने ताइ सितुपा रिम्पोछेबारे चासो बढ्नु स्वाभाविक हो। दलाई लामापछिका वरिष्ठ तिब्बती बौद्ध धार्मिक नेता कर्मपा लामाका धर्म गुरु हुन् ताइ सितुपा। कर्मपाका मुख्य धर्मगुरु ताइ सितुपा १२ औँ अवतारी रिम्पोछे हुन्।

तिब्बती बौद्ध मान्यता अनुसार ताइ सितुपाको अर्थ ‘टाढासम्म पुग्ने ठूलो गुरु’ भन्ने हुन्छ, जसलाई शाक्यमुनि बुद्धको वरिष्ठ शिष्य मानिन्छ। बौद्धनाथ विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार बौद्ध दर्शनका चार सेक्टमध्ये काग्र्यू सेक्टका उनी सबभन्दा ठूला धर्मगुरु हुन्।

सन् १९५४ मा पूर्वी तिब्बतको पाल्युल देगेजोङमा जन्मेका यी रिन्पोछे अहिले भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला नजिकैको शेराबलिङ गुम्बामा बस्छन्। तिब्बतमा आएको राजनीतिक उथलपुथलपछि ६ वर्षको उमेरमा ताइ सितुपा भुटान गए। भुटानी राजा–रानी उनका शिष्य बने।

उनी फेरि तिब्बत फर्केपछि सन् १९९४ मा भारतको गृहमन्त्रालयले भारत प्रवेशमा रोक लगाएको थियो। सन् १९९८ को अगष्टमा भारत प्रवेश फुकुवा गरिएपछि उनले धर्मशाला पुगेर नजिकै शेराबलिङ गुम्बा निर्माण गरे, जहाँ उनी करिब छ सय शिष्य लामाहरूसँग बस्दै आएका छन्।

युगेन थिन्ले दोर्जेलाई तिब्बतमा १७औँ कर्मपाको रुपमा छनोट गर्नमा यिनै ताइ सितुपा रिम्पोछेको मुख्य भूमिका रहेको मानिन्छ, जसलाई सन् २००० मा तिब्बतबाट नेपालको मुस्ताङ हुँदै भारतको धर्मशाला पुर्याउन पनि उनले नै सहयोग गरेको बताइन्छ।

ताइ सितुपा रिम्पोछेका नेपाल प्रतिनिधि धुन्डुपका अनुसार उनको पालपुङ मुनिहासन धर्म संघ छ, जसले अमेरिकाको पाल्पुङ फाउन्डेशनसँग सहकार्य गरिरहको छ। यसरी उनले अमेरिका, जर्मन, ताइवानबाट आर्थिक सहयोग जुटाउने गरेका छन्।

ताइ सितुपाले ताइवान, बेलायत, अमेरिका, न्युजिल्याण्ड, स्कटल्याण्ड, मलेसिया र सिंगापुरमा आफ्ना सेन्टहरू चलाएका छन्। दिल्लीको नोयडामा पनि उनको सेन्टर छ। तर भारत सरकारले अहिले पनि उनलाई सहज रुपमा सिक्किम र अन्य देश जान दिएको छैन। त्यसैले नेपालमा बौद्ध स्तुपालाई त्यत्रो दान दिँदा पनि उनी आफै सहभागी हुन पाएनन्।

तपाईंको बिचार