Monday, October 23, 2017

आयल निगमले अलकत्रा कारोबार थाल्दै

प्रकाशित मिति: 2016/11/17

मंसिर २, काठमाडौं । नेपाल आयल निगमले अलकत्राको कारोबार थाल्ने भएको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले लामो समयदेखि रोकिएको बिटुमिन अर्थात अलकत्राको आयात र बिक्री वितरण थाल्ने निर्णय गरेको हो ।
सडक, राजमार्ग र विमानस्थलको ‘रन–वे’ कालोपत्रे गर्ने पेट्रेलियम पदार्थ हो, बिटुमिन । बोलीचालीको भाषामा यसलाई ‘अलकत्रा’ भन्ने चलन छ ।
बिटुमिनको कारोबार लागि आवश्यक अध्ययन गर्न निगम व्यवस्थापनलाई सञ्चालक समितिले निर्देशन दिएको एक अधिकारीले जानकारी दिए ।
निगमले झण्डै १५ वर्ष अघि बिटुमिनको आयात र बिक्री वितरण गर्न छाडेको थियो ।

लगातारको घाटाले निगम नराम्रोसँग थलिएपछि निगमले बिटुमिनको आयात रोकेको थियो । अहिले निजी व्यवसायी नै बिटुमिन आयात गरेर बिक्री गर्ने गरेका छन् । कच्चा तेल प्रशोधनपछि पेट्रोल, हवाइ इन्धन, डिजेल र मट्टीतेल लगायत पेट्रोलियम निकालिन्छ । त्यसपछि बाँकी रहने लेदो नै बिटुमिन हो ।
उच्च माग
पछिल्लो समयमा बिटुमिनको कारोबार वार्षिक रुपमा उच्च रुपमा बढ्दैछ । देशमा कालोपत्रे सडकको सञ्जाल फैलिँदै गर्दा बिटुमिनको माग पनि उच्च दरमा बढिरहेको छ ।
यसैलाई ध्यानमा राखेर निगमले फेरि अलकत्रा कारोबार गर्नेबारे आवश्यक अध्ययन थालेको हो ।  
अहिले व्यवसायीहरुले आयात गर्ने बिटुमिन कमसल खालको हुन्छ । यसको परीक्षणका लागि कुनै सरकारी संयन्त्र नहुँदा यसको कारोबार गर्नेहरुले ठेकेदारसँग मिलेर कम गुणस्तरको बिटुमिन भित्र्याइरहेका छन् । यसैलाई सडकमा बिछ्याएर कालोपत्रे गर्दा पीच एकमहिना पनि नटिक्ने समस्या बढ्दो छ ।
गत आर्थिक वर्षमा नेपालमा ४० हजार ५ सय मेट्रिक टन बिटुमिन नेपाल भित्रिएको तथ्यांक छ । यसमा भारतबाट आयात भएको बिटुमिनको परिमाण २६ हजार २ सय मेट्रिक टन रहेको भन्सार विभागले जनाएको छ ।
नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट पनि बिटुमिन आयात हुन्छ । गतवर्ष साउदी अरेबियाबाट १२ हजार ९ सय मेट्रिक टन बिटुमिन आयात हुँदा सिंगापुरबाट ९ सय मेट्रिक टन भित्रिएको थियो ।
नेपालमा मलेसियाबाट पनि बिटुमिट भित्र्याइन्छ । मलेसियाबाट गतवर्ष झण्डै ५ सय मेट्रिक टन बिटुमिन आयात भएको थियो ।

नेपालमा सरकारी तबरबाट बिटुमिन आयात नहुँदा कमजोर गुणस्तरका बिटुमिनले बजारमा प्रश्रय पाएको छ । भारतीय बजारबाट किनिने बिटुमिन महंगो मूल्य पर्छ भने सिंगापुरको बिटुमिन तुलनात्मक रुपमा बढी महंगो पर्छ ।
निगमले बिटुमिनको कारोबार थाल्न आन्तरिक तयारी थालेपनि सबै प्राविधिक विषयहरु टुंगो लागेको छैन । तर, निकट भविष्यमा नै आयल निगमले बिटुमिन आयात गरेर बिक्री थाल्ने जनाएको छ ।
 

 

तपाईंको बिचार